राष्ट्रिय सभा सदस्य निर्वाचन प्रचारको अवधि आजसम्म

पत्रपत्रिकाबाट

सोमबार, ०६ माघ २०७६, ०७ : २१
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रचारको अवधि आजसम्म

काठमाडौँ  । यही माघ ९ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचारप्रसारको समय सोमबार रातिबाट सकिँदै छ । निर्वाचन आचारसंहिताबमोजिम ४८ घण्टाअगाडि अर्थात् भोलि माघ ६ गते सोमबार राति १२ः०० बजेदेखि मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसार बन्द हुने छ ।

मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मौन अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन । आयोगले मौन अवधिमा आचारसंहिता पूर्ण पालना गर्न गराउन सरोकारवालासँग अपिल पनि गरेको छ ।

निर्वाचन आयोगले यही पुस २७ बाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत निर्वाचन आचारसंहिताले तोकेका सबै सरोकारवालाले पालना गर्ने गरी आचारसंहिता लागू गरेको थियो । मतदानका लागि सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।