नारायणी नदी किनारमा कोटिहोम महायज्ञ हुने

हिरालाल आचार्य ‘डायमण्ड’

शनिबार, १९ पुस २०७६, १६ : २०
नारायणी नदी किनारमा कोटिहोम महायज्ञ हुने

चितवन । भरतपुर महानगरपालिका १ नारायणगढस्थित नारायणी नदी किनारमा १ महिने ऐतिहासिक १०८ कुण्डीय कोटिहोम महायज्ञ हुने भएको छ ।

माघ ११ गतेदेखि फागुन ११ गतेसम्म नदी किनारमा ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा साँस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं सङ्गीतमय लीलामय अष्टोत्तरशत (१०८) श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ– २०७६ आयोजना हुन लागेको हो । महायज्ञ आयोजक कोटिहोम महायज्ञ मूल आयोजक समारोह समितिले शनिबार नदी किनारमै पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । 

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने, भरतपुर– २३ जगतपुरस्थित श्री पशुपतिनाथ मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने, चितवनमै पहिलो आयुर्वेदिक शिक्षालय स्थापना गर्ने र क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ कोटिहोम पिठाधिश धर्मपाल गुरु वशिष्ठको सनिध्यतामा कोटिहोमबाट जलवायु परिवर्तन तथा वायु प्रदुषणलाई न्युनिकरण गराउनका लागि यस महायज्ञको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । 

महायज्ञमा यूवा पण्डित श्रीमद्भागवत कथाका दार्शनिक प्रवक्ता सुमधुर स्वरका धनी, विश्व विख्यात बालयोगेश्वर महाराज प्रमुख वाचक रहने छन् । पत्रकार सम्मेलनमा प्रमुख वाचक वालयोगेश्वरको उपस्थित रहेको थियो । प्रमुख वाचक वालयोगेश्वरका अनुसार पहिलोपटक यस विधिले महायज्ञ गर्न लागिएकोले यो ऐतिहासिक हुनेछ । महायज्ञ गर्न ३ करोडदेखि ५ करोडसम्म खर्च हुने अनुमान छ । महायज्ञबाट २५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य छ । 

३५ हजारभन्दा माथि दान गर्नेलाई हेलिकप्टरमा चढाएर मौलाकालिका र देवघाट भ्रमण गराइने छ । यस यज्ञमा अध्यात्मक र विज्ञानलाई संयोतात्मक गरेर यस महायज्ञ आयोजना गरिएको छ । यहाँ कुनै जातीय, धार्मिक विभेद नहुने उनले बताए ।  

महायज्ञ अवधिभरी कन्या तथा ज्येष्ठ नागरिकको सम्मान गरिने, निःशुल्क रुपमा ब्रतबन्ध गरिने, पाँच हजार एक सय रुपैयाँमा पञ्चेबाजा सहित विवाह गराइने उनले जानकारी दिए ।

उनका अनुसार महयज्ञबाट संकलन भएको रकमबाट धुर्मुश सुन्तली फाउण्डेशनले रामपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५ लाख रुपैयाँ सहयोग गरिने छ । यस्तै पत्रकार महासंघ चितवनले स्थापना गर्न लागेको कल्याणकारी कोषका लागि महायज्ञबाट आपेक्षित लक्ष्य अनुसार रकम संकलन भएमा ५ लाख रुपैयाँ र नभएको खण्डमा पनि साढे दुई लाख रुपैयाँ सहयोग गरिने छ । 
 

प्रतिक्रिया दिनुहोस