चितवन । भरतपुरमा जारी श्रीमद् भागवत महापुराण धन धान्यान्चल ज्ञान महायज्ञमा दान दाताहरुको उत्साहजनक सहभागिता रहेको छ । चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल देवघाटमा वेद विज्ञान समन्वयात्मक समावेशि कन्या गुरुकुल स्थापनाका लागि आयोजित श्रीमद् भागवत महापुराण धन धान्यान्चल ज्ञान महायज्ञमा दोस्रो दिन ९ लाख ७७ हजार ३ सय ८ रुपैयाँ दाताहरुले दान दिने प्रतिवद्धता गरेको आर्थिक समितिका संयोजक चन्द्रलाल राज भण्डारीले जानकारी दिनुभयो । मातृ शक्ति जागरण महा अभियान अन्तर्गत देवघाटमा कन्या गुरुकुल स्थापनाका लागि श्रीमद् भागवत महापुराण आयोजना गरिएको हो । ॐ शिवशक्ति कल्याणी केन्द्र, भरतपुरको आयोजनामा आयोजित महायज्ञको प्रदेश नम्वर ३ का सहकारी कृषि तथा भूमी व्यवस्थामन्त्रि दावा दोर्जे लामाले शुक्रबार उद्घाटन गर्नु भएको थियो ।
पछिल्लो समय धर्म र संस्कृति हराउंँदै र हस्तक्षेप भइरहेको भन्दै गुरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको महायज्ञका सहसंयोजक बाल सन्त कल्याणी दासले बताउनु भयो ।
नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका नारीहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा दिनका लागि महायज्ञ आयोजना भएको महायज्ञ मूल समारोह समितिका संयोजक रविन्द्र अधिकारीले बताउनु भयो । गुरुयोजना अनुसारको भवन निर्माण सम्पन्न गर्न करीब २० करोड लागत लाग्ने अनुमान गरिएकाले सोही गुरुयोजना पुरा गर्न महायज्ञ गरिएको उहाँको भनाइ छ ।
१२ रोपनी क्षेत्रफलमा फैलिएको गुरुकुलमा आवाससहितको व्यवस्था, पुस्तकालय, सभाहल लगायतका संरचना निर्माण गर्ने बताइएको छ । महायज्ञ अवधिभर बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृष्णप्रसाद गुरागाईंबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कयाणीबाट आशिर्वचन प्रदान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस