वीरेन्द्र क्याम्पसमा विद्यार्थीले गरे तालाबन्दी, पठनपाठन ठप्प

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, १० मंसिर २०७६, १२ : २३
वीरेन्द्र क्याम्पसमा विद्यार्थीले गरे तालाबन्दी, पठनपाठन ठप्प

चितवन । विद्यार्थीहरुले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा तालाबन्दी गरेका छन् ।

बिबिएस र बिएड संकायका विद्यार्थीहरुले पठनपाठन नै ठप्प हुने गरी हिजो सोमबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । कक्षाहरु नियमित रुपमा सञ्चालन नभएपछि उनीहरुले तालाबन्दी गरेका हुन्, जसले गर्दा क्याम्पसमा पढाइ हुने सबै संकायका पठनपाठन ठप्प भएको छ ।  

विद्यार्थीहरुले अभाव भएका शिक्षकहरुको पूर्ति गरी सम्पूर्ण कक्षाहरु नियमित रुपमा सञ्चालन हुनुपर्ने माग राखेका छन् ।

यसअघि पटकपटक कलेज प्रशासनसँग शिक्षकहरु पूर्ति गर्ने माग राखे पनि कुनै सुनुवाई नभएपछि अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य हुनुपरेको एक विद्यार्थीले बताए । 

एक साताअघि विद्यार्थीहरुले कक्षा नियमित सञ्चालन हुनुपर्ने माग राख्दै क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई कार्यालयमै थुनेका थिए । त्यसपछि कलेज प्रशासन र विद्यार्थीहरुबीच सहमति भएको थियो । सहमतिअनुसार कलेज प्रशासन अघि नबढेपछि विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

क्याम्पस प्रमुख गोविन्द सापकोटाले विद्यार्थीहरुले पढाइ नियमित नभएको भनेर माग राख्नु जायज भएको बताए । उनले त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत लिएर शिक्षकका लागि विज्ञापन गर्ने तयारी गरिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस