ठगी मुद्दामा मुछिएका राज्यमन्त्री रावलले दिए राजीनामा

सफल खबर संवाददाता

आइतबार, २४ कार्तिक २०७६, १६ : ११
ठगी मुद्दामा मुछिएका राज्यमन्त्री रावलले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । ठगी र किर्ते मुद्दामा मुछिएका मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएका हुन् । 

मन्त्री रावलका स्कीय सचिव रविन्द्र सुनारले मुख्यमन्त्री भट्टसमक्ष राजीनामा बुझाएको पुष्टि गर्दै सरकारबाट सुविधाबापत पाएको सवारी साधनलगायत ‘ह्याण्डओभर’ गरिसकेको बताए ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले छानविन अघि बढाएको छ । मन्त्री रावलविरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र किर्ते मुद्दा दायर भएको थियो । 

रावलविरुद्ध उनकै पार्टीका स्थानीय नेतासहितका १० जनाले ठगीको उजुरी दिएका थिए ।

रावलसहित ३६ जनाविरुद्धको उजुरीमा प्रहरीले करिब १ वर्ष लगाएर अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले गत भदौमा रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा अभियोग पत्र दायर गरेको थियो ।

भदौमा मुद्दा दर्ता भएपनि रावल भने कात्तिक ६ गते मात्रै अदालतमा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएकै दिन रावलको बयान लिइएको थियो । सोही दिन बयान सकिएर थुनछेक आदेश समेत जारी भएको थियो ।

जिल्ला न्यायाधीश गोपाल वास्तोलाको इजलाशले रावललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको थियो ।


 

प्रतिक्रिया दिनुहोस