सर्वेन्द्र भेटेका विप्लव समूहका गुणराज लोहनी चितवनबाट पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०५ कार्तिक २०७६, ०८ : ५२
सर्वेन्द्र भेटेका विप्लव समूहका गुणराज लोहनी चितवनबाट पक्राउ

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई काठमाडौंमा पटक–पटक भेटेका गुणराज लोहनी चितवनबाट पक्राउ परेका छन् । विप्लवका केन्द्रीय सदस्य रहेपनि लोहनीलाई असोज दोश्रो साता बसेको पार्टी केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यबाट बिदा गरेको थियो ।
लोहनी आफैले आफ्नो स्वास्थ्य समस्यालाई कारण देखाउँदै पार्टीको केन्द्रीय समितिमा रहेर काम गर्न कठिनाइ भएकाले बिदा दिन निवेदन दिएका थिए । त्यसपछि पार्टी बैठकले उनलाई केन्द्रीय समितिको जिम्मेवारीबाट बिदा गर्ने निर्णय गरेको थियो ।
उनले सरकार र विप्लव पार्टीका बीचको वार्ताका लागि सहजकर्ताका लागि नेकपाका नेताहरु सोमप्रसाद पाण्डे देखिका कतिपय नेताहरुलाई भेटमात्र गरेका थिएनन, यस अगाडि काठमाडौंमै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत भेट गदै आएका थिए ।
उनको यो भेटघाट समेत विप्लव नेकपाभित्र विवादमा परेको थियो । तर उनलाई पार्टीले कारवाही गरेर केसबाट हटाएको वा लोहनीको स्वास्थ्य अवस्थाकै कारण बिदाई दिएको भन्नेमा प्रष्ट खुलाएका छैनन् । तर महासचिव विप्लवले भने स्वास्थ्य अवस्थाका कारण बिदाई दिएको बताएका थिए ।

‘स्वास्थ्य समस्याका कारण पार्टीको केन्द्रीय समितिमा रहेर काम गर्न कठिनाइ भएकाले आफ्नो अवस्थाले दिएअनुसार देश र जनताका लागि काम गर्न सक्ने अनुमति दिँदै कमरेड गुणराज लोहनीलाई केन्द्रीय समितिको जिम्मेवारीबाट बिदाइ दिइयो’ विप्लवले वक्तब्यमा उल्लेख गरेका थिए ।

सोमबार मात्रै विप्लवले वक्तब्य जारी गर्दै केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेको भोलिपल्टै लोहनी पक्राउ परेका हुन् ।

उनी पार्टी जिम्मेवारीबाट हटेपछि चितवनस्थित बसेनीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले लोहनीलाई पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस