सुवास नेम्वाङ भन्छन्,– उपसभामुखले यसरी दिन सक्छिन् राजीनामा

सफल खबर संवाददाता

शुक्रबार, १७ असोज २०७६, ०७ : २०
सुवास नेम्वाङ भन्छन्,– उपसभामुखले यसरी दिन सक्छिन् राजीनामा

काठमाडौं । सभामुख र उपसभामुख फरक दलका नेता हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण अबको सभामुख कुन दलबाट हुन्छ ? त्यो कसरी हुन्छ ? नेकपाले सभामुख आफै राख्न चाहे उपसभामुखले राजीनामा कसलाई कसरी दिन सक्छन ? जस्ता प्रश्न अहिले व्यापक मात्रामा उठेका छन् । 

कानुनविद्हरु यसका पक्ष/विपक्षमा देखिन थालिसकेका छन् । सभामुखले उपसभामुखलाई राजीनामा बुझाएपनि संसदको कार्यअवधी बाँकी नै रहेका बेला यो अवस्थामा अब उपसभामुखले कसलाई कसरी राजीनामा दिन्छन ? भन्ने प्रश्न उठेको छ ।

नेकपाले सभामुख पद अन्य राजनीतिक पार्टीलाई छोड्न नचाहेमा अहिले कायम रहेकी उपसभामुख शिवमाया तुम्वहाम्फेलाई पनि पदबाट राजीनामा गराउनु पर्ने हुन्छ ।

तर उपसभामुखले राजीनामा दिनका लागि संविधान वा संसदको नियमावली नै संसोधन गर्नुपर्ने तर्क केही कानुनविद्हरुले गरिरहेका छन् ।

तर यस विषयमा त्यस्तो केही कानुनी जटिलता नरहेको पूर्वसभामुख तथा नेकपाका नेता सुवास नेम्वाङले बताएका छन् ।
उपसभामुखले राजीनामा दिँदा सभामुख व्यक्ति नभएपनि पद भएकोले ‘सभामुखलाई सम्बोधन’ गरेर दिन सक्ने नेम्वाङ बताउाछन् । 

‘सभामुखलाई नभई सभामुखलाई सम्बोधन गरेर राजीनामा दिने व्यवस्था नियमावलीमा छ,’ विहीबार संसद सचिवालयमा सञ्चारकर्मीहरुसँग नेम्वाङले भने, ‘सभामुख नभएको अवस्थामा उपसभामुखलाई राजीनामा दिन केहीले पनि रोक्दैन ।’ नियमावलीको नियम २११ को उपनियम २ मा सभामुख वा उपसभामुखमध्ये जसले राजीनामा दिए पनि बैठकको अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउने व्यवस्था गरेको छ ।
‘दुवै जनाले राजीनामा दिए बैठकको जेष्ठ अध्यक्षले बैठकमा सुनाउन सक्ने कुरालाई हेक्का राखेर नियमावलीमा यस्तो व्यवस्था गरिएको हो,’ नेम्वाङ भन्छन् ।

उनको यो तर्कका आधारमा पनि नेकपाले सभामुख अन्य दललाई नदिने तयारी थालेको प्रष्टै बुझिन्छ । त्यसका लागि उपसभामुख तुम्वहाम्फेको पद भने धरापमा परेको छ । उनलाई राजीनामा गराउने तयारी नेकपाले गरेको नेम्वाङको उक्त तर्कले प्रष्ट पार्छ ।

विगतमा पनि यही संविधान भित्रै यस्तो व्यवस्थाको अभ्यास गरिसकेको नेकपाका कतिपय नेताहरुको तर्क छ । नयाँ संविधान जारी भएपछि तत्कालीन सभामुख नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले एकापसमा राजीनामा साटासाट गरेर राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस