चौसठ्ठी खसीबोका नियन्त्रणमा

आइतबार, २९ भदौ २०७६, १० : १६
चौसठ्ठी खसीबोका नियन्त्रणमा

कोहलपुर । वडादशैँ र तिहार नजिकिएसँगै बाँके जिल्लामा विभिन्न नाकाहरुबाट प्रशासनको आँखा छलेर अवैध धन्दा गर्ने समूह सक्रियरूपमा लागिपरेका छन् । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अवैधरूपमा नेपाल भित्र्ययाइएका ठूलो मात्रामा खसीबोका  नियन्त्रणमा लिएको छ ।
 
बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा राखिएका ६४ खसीबोका प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार नियमित जाँचका क्रममा ६४ खसीबोका नियन्त्रणमा लिइएको खसीको मूल्य रु पाँच लाख बराबरको रहेको बताउनुभयो ।
 
नियन्त्रणमा लिइएको खसी तथा ट्रक चालक कृष्णप्रसाद पराजुलीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको जानकारी दिनुभयो । यसरी अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो नियन्त्रणमा लिने गरेको छ । करीब दुई साताअघि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका रु तीन लाख २० हजार मूल्यका ३९ खसीबोका  राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट नियन्त्रणमा लिएको थियो । –रासस

प्रतिक्रिया दिनुहोस