बालकुमारी माविले स्वर्ण महोत्सव मनाउने

शुक्रबार, २७ भदौ २०७६, १६ : ५१
बालकुमारी माविले स्वर्ण महोत्सव मनाउने

चितवन । नारायणगढमा रहेको बालकुमारी माध्यमिक विद्यालयले स्वर्ण महोत्सव २०७६ मनाउने भएको छ । 
विद्यालयले आज पत्रकार सम्मेलन गरी ५४ औं वर्ष पुगेको २०७६ लाई अविष्मरणीय स्वर्ण महोत्सवको रुपमा मनाउने जनाएको छ ।

‘हाम्रो चाहना गुणस्तर वृद्धिको कामना’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै स्वर्ण महोत्सव २०७६ वर्षलाई अविष्मरणीय स्वर्ण महोत्सव वर्षको रुपमा मनाइने विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उहाँले असोज ६ गतेबाट स्वर्ण महोत्सवका कार्यक्रमहरु सुरु भई २०७६÷८÷२८ गते स्वर्ण महोत्सव समारोहको सम्पूर्ण कार्यक्रम समापन हुने बताउनुभयो । 

स्वर्ण महोत्सवको लागि एक हजार ५४ सदस्यीय मूल समारोह समिति, १७ सदस्यीय सचिवालय समिति, ३१ वटा विभिन्न उपसमितिहरु निर्माण गरिएको छ । स्वर्ण महोत्सवमा स्वर्णस्तम्भ, स्वर्णद्वार, स्वर्णमञ्च र स्वर्णहल शिलान्यासदेखि शैक्षिक जागरण अभियानसम्मका कार्यक्रम गरिने छ । 

प्रअ थापाले स्वर्ण महोत्सवमा ज्येष्ठ नागरिक सम्मान, निःशुल्क स्वास्थ्य शिविर, वृद्धाश्रममा फलफूल वितरणलगायतका कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । 

डिप्लोमा इन अटोमोबाइल्स इन्जिनियरिङका कक्षा सञ्चालनको लागि भौतिक पूर्वाधार निर्माण गर्ने, ६० लाख रुपैयाँको अक्षयकोष निर्माण गरी गरिब विपन्न एवम् जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने, प्रविधिमैत्री कक्षा, पुरानो भवन मर्मत तथा पुनर्निर्माण गर्ने स्वर्ण महोत्सवको लक्ष्य छ । स्वर्ण महोत्सवको लागि २ करोड खर्च लाग्ने अनुमान गरिएको छ । 

चितवन जिल्लाको पहिलो सदरमुकाम उपरदाङगढीस्थित बालकुमारी देवीको नाउँबाट नामकरण गरिएको यस विद्यालयको स्थापना वि सं. २०२२ सालमा बालकुमारी मिडिल स्कुलको नामबाट भएको हो । 


 

प्रतिक्रिया दिनुहोस