मलेसियामा नयाँ कामदारको खुल्यो बाटो

विहीबार, २६ भदौ २०७६, १६ : ०३
मलेसियामा नयाँ कामदारको खुल्यो बाटो

काठमाडौँ । नेपाल र मलेसियाबीच श्रम समझदारी कार्यान्वयनमा सहमति जुटेको छ। गत कात्तिकमै श्रम समझदारी भए पनि केही विषयमा दुई देशबीचको मतान्तर बिहीबार बसेको संयुक्त बैठकले टुंगो लगाएको हो।

मुख्यगरी स्वास्थ्य संस्था थप्ने कि पुरानैले मात्रै काम गर्ने भन्ने विषयमा दुई देशबीच मतान्तर थियो। बिहीबार भएको सहमतिअनुसार नेपालले सूचीकरण गरेका ८६ वटा नयाँ स्वास्थ्य संस्था थप्ने प्रक्रिया मलेसियाले आगामी नोभेम्बर पहिलो साताबाट सुरु गर्ने भएको छ।

त्यसअघि पहिलेका ३६ वटै स्वास्थ्य संस्थाले मात्रै मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने छन्। छलफलमा नेपालले तत्कालै प्रणालीमा जोड्न प्रस्ताव गरेको थियो भने मलेसियाले आफ्नो प्रक्रियाअनुसार आवश्यक परे स्वास्थ्य संस्था थप्ने भनेको थियो। तर दुई देशबीच निश्‍चित समय नै तोकेर प्रक्रिया थाल्ने विषयमा सहमति जुटेको हो।

यस्तै सुरक्षा गार्डको छुट्टै सम्झौता नगर्ने र पहिलेकै सम्झौतामा समेटिने गरी पठाउने व्यवस्था मिलाउने सहमति भएको छ। घरेलु कामदारको विषयमा भने सामान्य मात्रै कुरा भएको नेपाली टोलीका संयोजक श्रम मन्त्रालयका सहसचिव डा। रामप्रसाद घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार अब नयाँ जाने श्रमिक पठाउन कुनै बाधा पर्नेछैन। शून्य लागतमा नेपाली कामदार पठाउने प्रक्रिया सुरु हुनेछ। यसअघि मंगलबार र बुधबार भएको छलफलमा आआफ्ना धारणा राखेका थिए। दुई दिनका लागि भनिएको बैठक थप छलफल गरेर टुंग्याउन आवश्यक भएको भन्दै बिहीबारसम्म लम्बिएको थियो।

२०७५ जेठ २ गते स्वास्थ्य संस्थाको एकाधिकार तोड्न भन्दै श्रम मन्त्रीले निर्णय गरेसँगै मलेसियाको रोजगारी बन्द जस्तै थियो। पहिले नै श्रम स्वीकृति लिइसकेका श्रमिक मात्रै गइरहेका थिए। अब भने नयाँ प्रक्रिया अगाडि बढाउन कुनै बाधा नपर्ने घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस