काँग्रेसलाई सरकारको प्रश्न : विप्लव समूहलाई किन काखी च्यापेको ?

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, १८ : १३
काँग्रेसलाई सरकारको प्रश्न : विप्लव समूहलाई किन काखी च्यापेको ?

काठमाडौ । सरकारले नेकपा विप्लव समूहको हिंसाबारे प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको धारणा माग गरेको छ । 
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा विप्लवको हिंसाबारे काँग्रेसलाई आफ्नो धारणा स्पष्ट गर्न आग्रह गरेका हुन । मन्त्री बास्कोटाले प्रश्न गरे, ‘हिंसाबारे कांग्रेसको धारणा के ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’

संविधान, कानुन र शान्तिका विरुद्ध नेपाली काँग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न पनि गरे  । भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका २ जनाको हत्या भएको थियो । सोही घटनालाई लिएर नेपाली काँग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो । त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली काँग्रेसले कानुन, संविधान विपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दावी गर्दै आपत्ति जनाए । उनले भने ‘कांग्रेसले हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा मुछ्ने हो भने दिनभरि वीपी, रातभरि विप्लव हो ?’

भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै मन्त्री बास्कोटाले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन कांग्रेसलाई आग्रह गरे । सशस्त्र द्वन्द्वकालमा माओवादीले कहिले दरबारका नाममा, कहिले कांग्रेस त कहिले एमालेका नाममा खेलेकै स्मरण गर्दै उनले अहिले विप्लवसमूहले पनि त्यही प्रयोग गर्न खोजेको बताए । उनले अघि भने, ‘१० वर्ष भयानक हिंसा हुँदा मुख्य मतियारहरु को थिए ? उहाँहरुको दृष्टिकोण पूरातत्व विभागबाट खोज्नुपर्ने भयो ।

मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानवीनका लागि संसदीय समिति गठन गर्न नसकिने अडान पनि दोहोर्याए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सो हत्याकाण्डको छानवीनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । उनले हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्छु भन्ने नसोच्न कांग्रेसलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस