छोटो समयमा काँचुली फेरेको एउटा विद्यालय

सफल खबर संवाददाता

विहीबार, १२ असार २०७६, १७ : २९
छोटो समयमा काँचुली फेरेको एउटा विद्यालय

चितवन । धेरै सामुदायिक विद्यालय अहिले पनि कान्लामुनि नै छन् । उनीहरुलाई विद्यार्थी तान्न धेरै पापड बेल्नु परेको छ । कति सामुदायिक विद्यालय विद्यार्थी नपाएर मर्जको अवस्थामा पुगेका छन् । कति त्यसै सुस्ताएर बसिरहेका छन् । 

चितवनको भरतपुर महानगरपालिका वडा नं १ मा रहेको पोखरा बसपार्क नजिकै रहेको आदिकवि भानुभक्त मावि सबै सामुदायिक विद्यालयको प्रेरक बनिरहेको छ । यस विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयभित्र गनिएको छ । हालैमात्र स्वर्ण महोत्सव मनाएको छ । 

विद्यालयमा आठ कठ्ठा जग्गा थप्ने काम सम्पन्न गरेको छ । विद्यार्थी संख्या बढेर प्रवेश परीक्षा लिएर मात्र भर्ना लिन थालिएको छ । छोटो समयमै विद्यालयले काँचुली फेरेको देख्दा अभिभावकदेखि विद्यार्थीसम्म सबै मख्ख छन्

कसरी भयो परिवर्तन ?
धेरै सामुदायिक विद्यालय राजनीतिका कारण बिग्रिएका छन् । शिक्षक नियुक्त गर्दा हुने भनसुन र राजनीतिको चरम प्रभावले उँभो लाग्न सकेका छैनन् । एकअर्कामा हुने मनमुटाव, तिक्तता र असहयोगका कारण सामुदायिक विद्यालय जम्न सकेका छैनन् । 

विद्यालयलाई केही गर्नुपर्छ, बनाउनुपर्छ भन्ने लगाव दिने टिमवर्क हुन नसक्दा सामुदायिक विद्यालय पछाडि परेका छन् । विद्यालय व्यवस्थापन समितिमा राजनीतिले बनाएको गुटवन्दी, विद्यालयमा हुने कामकारबाहीमा हुने कमिसनको खेल, निष्किृय प्रधानाध्यापकलगायतका थुप्रै कारणले सामुदायिक विद्यालय उठ्न सकेका छैनन् । 
सामुदायिक विद्यालयलाई उठ्न नदिने थुपै्र भाइरस तत्वबाट आदिकवि भानुभक्त मावि टाढा नै बस्यो । विद्यालयमा यस्तो नेतृत्व आयो, जुन नेतृत्व केही गर्नुपर्छ, विद्यालयलाई बनाउनुपर्छ भनेर दिनरात पिरोलियो र एउटा मिसन बनाएर दौडियो । 

५० वर्षअघि स्थापित भानुभक्त माविले गत दुई वर्षमा प्रगतिको फड्को मारेको अभिभावकहरु बताउँछन् । विव्यस अध्यक्ष बद्री अधिकारी आउनुअघि विद्यार्थी मुस्किलले १२ सय थिए । अहिले विद्यार्थी १७ सय पुगेका अध्यक्ष अधिकारी बताउँछन् । 

२०७३ मंसिरमा बद्री अधिकारीको नेतृत्व आएको हो । विव्यस अध्यक्ष अधिकारी र प्रधानाध्यापक विष्णुप्रसाद सापकोटा टिम जुझारु भएर स्कुल बनाउन लाग्यो । लागेको दुई वर्षमै स्कुलले एउटा राम्रो छनक दिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले आगामी पाँच वर्ष भित्रमा आदिकवि भानुभक्त माविलाई चितवन जिल्लाको मात्र नभई देशकै नमुना विद्यालयको रुपमा स्थापित गरिने दावी गरे । विद्यालयले यसवर्षदेखि सिभिल इन्जिनियरिङ विषयमा पढाइ सुरु गर्ने भएको छ ।

यसै वर्षदेखि विज्ञान संकायमा कक्षा ११ को अध्यापन सुरु गरिने प्रधानाध्यापक विष्णुप्रसाद सापकोटाले बताए । आगामी वर्ष अन्य विषय थप गरी विद्यालयलाई पूर्ण रुपमा प्राविधिक शिक्षालय बनाइने प्रधानाध्यापक सापकोटाले जानकारी दिए । विद्यालय रंगरोगन गरेर चिटिक्क बनाइएको छ ।
विद्यालय परिसरमा अभिभावक प्रतिक्षालय निर्माण, व्यवस्थित शिशु कक्ष, हल निर्माण, सीसी क्यामेरा व्यवस्थापन, स्मार्टबोर्ड सहितको आइसिटी व्यवस्थापन गरिएको छ । कक्षाकोठामा भएका गतिविधिहरु प्रअ सापकोटा अफिसमै बसेर सीसी क्यामेराबाट हेर्ने गरेका छन् । कुनै शिक्षक अल्छी बन्न पाउँदैनन् । कुनै विद्यार्थी नपढी बस्न पाउँदैन । 

यही माघमा  विद्यालयले स्वर्ण महोत्सव मनाउन सफल भयो । २०२५ सालमा स्थापना भएको यस विद्यालयले २०६८ सालबाट कक्षा ११ र १२ मा शिक्षा तथा व्यवस्थापन संकायका कक्षाहरुको सुरुवात गरेको थियो । यसै वर्षबाट कक्षा ११ मा विज्ञान संकाय पनि थपेको छ । १८ महिने अमिनसमेत चलाउने कसरतमा विद्यालय लागिरहेको अध्यक्ष अधिकारीले बताए । 

लगाव र परिश्रमले यहाँसम्म
सरकारी दरवन्दीका २९ र स्थानीय स्रोतबाट ३५ गरी ६७ जना शिक्षक–कर्मचारी काम गरिरहेका छन् । २०७४ यता यो विद्यालय स्रोत केन्द्र पनि बनेको छ ।

प्रअ सापकोटा पहिला त्यति जुझारु थिएनन् । उनी आफैँ स्वीकार्छन् । भन्छन्, ‘म प्रअ हुँदा तीन जना अध्यक्ष पचाएँ, तर टिम अहिलेमात्र मिलेको छ, काम गर्ने वातावरण बनेको छ । सबै जनाको लगाव र परिश्रमले हामी यहाँसम्म आएका छौँ ।’उनको भनाइअनुसार भिजनसँग व्यवस्थापन समितिको मिसन मिल्यो भने मात्र विद्यालयले चाँडै फड्को मार्ने रहेछ । विद्यालयमा अहिले मल्टिमिडियाको माध्यमबाट पढाइ हुन थालेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को सम्वन्धनमा ४८ विद्यार्थीले सिभिल ओभरसियरको कोर्ष गरिरहेका छन् । तीन बर्षे ओभरसियर कोर्षको लागि विद्यालयले जम्मा २ लाख ७० हजार रुपैयाँ शुल्क तोकेको छ ।

ओभरसियर पढाइका लागि आँपटारीमा रहेको १४ कठ्ठा जग्गामा ३८ लाख रुपैयाँमा प्रयोगशालासहित दुईवटा भवन निर्माण गरिएको छ । नारायणी लिफ्टको कार्यालय हाताभित्र परेको विद्यालयको ८ कठ्ठा जग्गा विद्यालय मातहतमा ल्याइसकिएको छ ।
‘धेरै सामुदायिक विद्यालयले कक्षा ११ मा विज्ञान संकाय चलाउन सकेका छैनन्, तर हामी आँट गरेर यसै वर्षदेखि चलाउँदै छौँ’ अध्यक्ष अधिकारीले भने, ‘हामी गर्छौ, देखाउँछौँ, नमुना बनाउँछौँ ।’ उनका अनुसार विज्ञान चलाउन भौतिक स्रोत साधनले छेक्दैन । उनले भने, ‘८० लाख बराबरको चार कोठे भवन बनिरहेको छ, आँपटारीमा पनि २० लाखको अर्को भवन बनाइएको छ ।’ 

कक्षा ६ सम्म अंग्रेजी र त्यसमाथि कक्षा १० सम्म अंग्रेजी र नेपाली माध्यमबाट पढाइ भइरहेको छ । कक्षाकोठा भरिएका छन् । सीसीक्यामराको निगरानीमा शिक्षकहरु जोडबल गरिरहेका छन् । विद्यालय पुग्दा लाग्छ, यस्तो उत्साह सबै सामुदायिक विद्यालयमा हुने भए सबैले काँचुली फेर्ने थिए । 

भानुभक्त माविमा अहिले २८ वटा कम्प्युटरसहितको ई–लाइब्रेरी पनि छ । विद्यालयमा आउने अभिभावकहरुको लागि सफासुग्घर प्रतीक्षालय र मोटरसाइकल स्ट्याण्ड छ । खानेपानी र शौचालय व्यवस्थित छ । चौरमा मोज्याक टायल बिछ्याइएको छ । २०२५ सालमा बालकुमारी स्कुलको शाखाको रुपमा स्थापित यो विद्यालयले काँचुली फेरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस