चेपाङलाई बनाइयो कमाई खाने भाँडो

चेपाङलाई देखाएर कमाउने गिरोह सक्रिय, स्थानीय सरकारको निगरानी

उर्गेन तामाङ

आइतबार, ०८ असार २०७६, १७ : ०७
चेपाङलाई देखाएर कमाउने गिरोह सक्रिय, स्थानीय सरकारको निगरानी

चितवन । सिमान्तकृत आदिवासी जनजाति चेपाङ समुदायलाई विभिन्न संघसंस्थाले कमाई खाने भाँडो बनाइरहेको पाइएको छ । उनीहरुलाई सहयोग गर्ने बहानामा विभिन्न स्वार्थ बोकेका व्यक्ति, समूह र संघसंस्थाहरुले चेपाङलाई कमाई खाने गतिलो स्रोत बनाएको पाइएको हो । यसप्रति सरोकारवाला निकायले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । 
चोपाङ समुदाय चितवन, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ लगायत जिल्लाका पहाडी ईलाकामा बसोबास गर्ने गर्दछन् । यो समुदायको चितवनमा पनि बाक्लै बसोबास रहेको छ । विशेषगरी पूर्वी चितवनको राप्ती नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाँउपालिकाको पहाडी क्षेत्रमा चेपाङहरुको बाक्लै बसोबास रहेको छ । 

चेपाङलाई बनाइयो कमाई खाने भाँडो 
पछिल्लो समय केही व्यक्तिहरुको जीवनस्तर सुधारोन्मुख देखिएपनि अन्य जातिको तुलनामा आर्थिक, शैक्षिक तथा सामाजिक रुपमा यो समुदाय निकै कमजोर रहेको छ । उनीहरु वर्षमा ६ महिना खाद्यान्न अभावका कारण जंगली तरुल, कन्दमुल, गीठा खोजेर जीविकोपार्जन गर्ने गरेका छन् भने विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगमा भर पर्नु पर्ने बाध्यता रहँदै आएको छ । तर केही संघसंस्थाले सहयोग गर्ने नाममा गलत फाइदा उठाइरहेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन् । उनका अनुसार सहयोगको बहानामा स्वार्थी समूह संलग्न केही संघसंस्थाले चेपाङलाई कमाई खाने भाँडो बनाइरहेका छन् । 
मेयर बरालले भनिन्, ‘पहाडी चेपाङ बस्तीमा विभिन्न संघसंस्थाले पैसा ओइरो खन्याएका छन् तर उनीहरुको जीवनस्तरमा कुनै परिवर्तन आउन सकेको छैन ।’ उनीहरुको जीवनस्तर परिवर्तन नहुनुमा चेपाङलाई देखाएर सधैँभरि कमाइरहुँ भन्ने गिरोहको नियत प्रमुख कारण रहेको बरालको भनाइ छ । उनी भन्छिन्, ‘ती सक्रिय गिरोहले चेपाङलाई सधैँ भोकै, नांगै, खाली खुट्टामा देखिरहन चाहेका छन् ।’ 

स्वार्थी गिरोहलाई लखेट्ने चेतावनी
मेयर बरालले यस्ता गिरोहलाई सबै मिलेर लखेट्ने चेतावनी दिएकी छिन् । मेयर बरालले पछिल्लो समय सहयोगका नाममा जुनसुकै संघसंस्थालाई गाउँ जान नदिने गरेको बताए । ‘निःस्वार्थ सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले नगरपालिकामा अनुमति लिएरमात्रै जान पाउँछन्’ उनले भनिन् । सहयोगको परिमाण, उद्देश्य, खर्च विवरण लगायत त्यहाँ हुने सम्पूर्ण गतिविधिको जानकारी गराएरमात्रै सम्बन्धित स्थानमा जान दिने गरिएको मेयर बरालले बताइन् । 
कुन संघसंस्थाले त्यस्तो गिरोहमार्फत कमाई खाने भाँडो बनाइरहेका छन् भन्नेबारे मेयर बरालले नखुलाए पनि ती संघसंस्थामाथि स्थानीय सरकारले कडा निगरानी गरिरहेको दाबी गरिन् । उनले गरिबीको गलत फाइदा उठाउनेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिइन् । 

नि:स्वार्थ सहयोगीलाई स्वागत
चितवनको एकमात्र गाँउपालिका इच्छाकामना गाँउपालिकाले पनि लक्षित विपन्न समुदायलाई सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले गाँउपालिकामा अनिवार्य सम्पर्क गर्नु पर्ने जनाएको छ । गाँउपालिका अध्यक्ष गीताकुमारी गुरुङले हिजो जे जस्तो भए पनि आगाम दिनमा उपलब्धि देखिनु पर्ने बताइन् । उनले भनिन्, ‘फोटो खिचाएर देखाउँदै पैसा ल्याउनेभन्दा पनि अब लगानी गरिसकेपछि आर्थिक, शैक्षिक, सामाजिक तथा भौतिक रुपमा देखिने उपलब्धि हासिल गर्नुपर्छ ।’
चेपाङ लगायत लक्षित विपन्न समुदायको मानसिक रुपमा चेतना परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘अब माछा दिने होइन, माछा मार्न सिकाउनु पर्छ । उनीहरुको आर्थिक, शैक्षिक लगायत जीवनस्तर माथि उठाउन विभिन्न किसिमका सहयोगले टेवा पुग्ने भएकाले निःस्वार्थ सहयोग गर्नेलाई गाउँपालिकामा स्वागत गर्छौं तर फोटो खिचाएर देखाउने अनि आप्mनो स्वार्थपूर्ति गर्ने प्रवृत्तिलाई कडाई गरिने छ ।’ अध्यक्ष गुरुङले गाउँपालिकाको नीति तथा कार्यक्रममा पनि विपन्न समुदायको जीवनस्तर सुधार्नेखालका सीपमुलक र आयमुलक विभिन्न कार्यक्रम समेटेर ल्याएको बताइन् । 

बालबालिकाको अवैध ओसारपसार 
विपन्न समुदायका व्यक्तिहरुलाई सहयोग गर्ने बहानामा विभिन्न व्यक्ति तथा संघसंस्थाले उनीहरुलाई धर्म परिवर्तन गराउने तथा स्वार्थ पूर्तिका लागि अन्यत्र स्थानान्तरण गरिरहेको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । केही दिनअघि राप्ती नगरपालिकाका ४१ जना बालबालिकालाई अवैध रुपमा गोरखातर्फ लैजाँदै गर्दा गोन्द्राङबाट प्रहरीले उद्धार गरेको थियो । निःशुल्क पढाइदिने भनी अभिभावकलाई समेत प्रलोभनमा पारी बालबालिकालाई लैजाँदै गरेका केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले निर्धारण गरेको ५९ जनजातिमध्ये एकमा चेपाङ पर्छ । २०६८ सालको जनगणना अनुसार नेपालमा चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस