४५ घरको खुल्ला शौचालय, दिशा गरेर पातैले पुछेर ४५ वर्ष बिताइसकेका स्थानीयहरु

प्रकाश सिग्देल

शुक्रबार, २४ जेठ २०७६, १६ : ०७
४५ घरको खुल्ला शौचालय, दिशा गरेर पातैले पुछेर ४५ वर्ष  बिताइसकेका स्थानीयहरु

नवलपुर । ४५ वर्षदेखि एउटा वस्तीका करिव ४ सय जना मानिसले खुल्ला शौचालय प्रयोग गर्दै आएका छन् । गैंडाकोट नगरपालिका वडा नम्वर ३  भुजेल गाऊँका ४५ घर परिवारले अहिलेसम्म पनि जंगल र पाखा बारीमा खुल्ला रुपमा शौचालय प्रयोग गर्नु परेको दुखेसो पोखेका छन् । गाऊँ भरीका साना साना केटाकेटीदेखि युवायुवती र बुढाबुढीहरु सबै खुल्ला रुपमै शौचालय गर्नु पर्ने बाध्यतामा रहेको स्थानीयहरु बताउँछन् ।

पुरै गाऊँमा पानीको अभाव भएपछि उनीहरु जंगल जाने दिशा गर्ने सेउलाले दिशा पुछेर फर्कने गरेको दुखःद बाध्यता सुनाउन लाज मान्दैनन् ।  स्थानीय युवा तथा गाऊँका अगुवा रेशम भुजेलले ४५ वर्ष अगाडि तनहुँबाट बसाईसराई  गरी यो वस्ती बसेको बताउनुभयो । वस्ती बसेका दिनदेखि आजसम्म त्यो गाऊँमा जनसंख्या वृद्धिबाहेक विकासका नाममा अरु केही नभएको उहाँ स्मरण गर्नुहुन्छ । ४५ घर परिवारमा एउटा घर पनि शौचालय नभएको सबैले जंगल र खुल्ला जमिनमा नै दिशा पिसाब गर्ने गरेको उहाँको भनाई छ । केही वर्ष अगाडि केही संघसंस्थाले शौचालयका लागि रिंग बाँडेको भए पनि पानी नै नभएपछि स्थानीयले रिंग जमिनमुनी गाढेर मात्रै राखेको उहाँ बताउनुहुन्छ । स्थानीय शान्तीकुमारी भुजेलले गाऊँमा ४ घरले शौचालय बनाए पनि शौचालयमा राख्ने पानीको अभाव भएपछि शौचालय बनाएकाहरु पनि जंगल जाने गरेको बताउनु भयो ।

गाऊँ पुरै अभाव र पिडामा बाँचेको बताउँदै उहाँले आफू ८ वर्ष अगाडि यो गाऊँमा आएको र आफूँ आएका दिनदेखि आजका दिनसम्म कुनै परिर्वतन नदेखेको बताउनु हुन्छ । त्यस्तै स्थानीय सनसरी गुरुङ्गले शौचालय भए पनि पानी नभएपछि जंगल जानु परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “दुख नमान्नुहोला दिशा ग¥र्यो स्याउला समाई पुच्र्यो हिँड्यो” खुल्ला रुपमै शौचालय गरेकै कारण हरेक वर्ष गाऊँमा झाडा पखाला फैलने गरेको उहाँ स्मरण गर्नुहुन्छ । माथी वस्ति तल पानीको कुवा वर्षातमा भेलले सबै दिसा पिसाव कुवामा जम्मा हुने र त्यही फोहोर पानीको प्रयोगले गाऊँमा सरुवा रोग फैलने गरेको उहाँको भनाइ छ । आफूहरुसँग कुनै पनि विकल्प नै नभएकाले दिशाका लागि जंगल जानुु परेको, पिउनका लागि फोहोर पानीको प्रयोग गर्नु परेको उहाँको भनाइ छ ।



गाऊँका सबै मानिसका पिडा खाने पानी र शौचालयसँगै जोडिएको छ । जुन चिज अति आवश्यक हो त्यही चिज नै नभएपछि पिडै पिडामा छन् स्थानीयहरु । “अरुको गाऊँमा त  ट्वाईलेटमा हाल्ने पानी पनि कति सफा हुन्छ’ मन अमिलो बनाउँदै स्थानीय फुलमाया राना भन्नुहुन्छ ‘हाम्रो त गाऊँमा ट्वाईलेटमा हाल्ने पानी पनि छैन्, ट्वाईलेटमा हाल्न पनि नमिल्ने फोहोर पानी हामी खानुपर्छ” । पानीकै अभावका कारण वर्ष वर्षदेखि जंगलमै दिशा पिसाव गर्नु परेको उहाँ बताउनुहुन्छ । त्यो गाऊँका बालबालिकाहरु पानीकै अभावका कारण शिक्षा लिनबाट समेत बञ्चित भएका छन् ।

पानी भरे स्कुल जान नपाउनी, स्कुल गए पानी भर्न नपाउने अवस्था आफूहरुलाई रहेको विद्यार्थीहरु बताउँछन् । गैंडाकोट नगरपालिका भित्रको सडकसँग जोडिएको यो वस्तीको अवस्था यस्तो दर्दनाक हँुदा पनि नगरपालिकाले यो वस्तीको समस्या समाधानका लागि केही पहल गरेको देखिँदैन् । चरम गरिबिका कारण पनि यहाँका स्थानीयहरुले आफैले केही गर्नसक्ने अवस्था देखिँदैन । यो वस्तीको समस्या समाधानका लागि सबै निकायहरुले ध्यान केन्द्रित गर्न जरुरी छ ।
 

प्रतिक्रिया दिनुहोस