जीवनभर साथ दिन्छु भन्नेले एसिड हानेपछि...

सफल खबर संवाददाता

विहीबार, ०२ जेठ २०७६, १६ : २७
जीवनभर साथ दिन्छु भन्नेले एसिड हानेपछि...

काठमाडौँ । यति चोखो यति मीठो दिउँला तिम्लाई माया बिर्सनेछन् साराले पुराना प्रेमका कथा...’। गोपाल योञ्जनले यो गीतमा कसको प्रेम कुँदे ? या आफ्नै प्रेम कथालाई गीतमा ढाले ? अहिले जवाफ पाउन मुस्किल छ । 

गोपाल योञ्जनले गीतमा भनेजस्तै दोलखा डाँडागाउँकी जेनी खड्काले पनि आफ्नो प्रेमीबाट यस्तै मायाको कल्पना गरेकी थिइन् । जेनी १० कक्षा पढ्दापढ्दै प्रेम जालमा परिन् । चोखो र मीठो माया पाइरहेको कल्पनामा रमाउन थालिन् । घरको कमजोर अवस्था, आश्रममा बसेर पढ्नुपर्ने बाध्यता थियो उनलाई । 

जेनी एक्लो महसुुस गरिरहेकी अवस्थामा अचानक भेटिन्छन् काभ्रेका विष्णु भुजेल । उनको एक्लो जीवनको सारथी बनेर आउँछन् भुजेल । साथ दिने वाचा गर्छन् । सँगै मर्ने र सँगै बाँच्ने कसम खान्छन् । जीवनभर साथ दिन्छु भन्छन् ।

विष्णुका कुराकानीकै आधारमा सजिलै आकर्षित हुन्छिन् जेनी । उमेर भर्खर १५ मा टेकेकी थिइन् जेनी । जेनीलाई विष्णुले सजिलै मायाजालमा पार्छन् । विष्णुको कुरामा विश्वास गर्दै जेनी वैवाहिक जीवनमा बाँधिने निर्णयमा पुग्छिन् । उनीहरु भागी विवाह गर्छन् । 

मोटरसाइकल ग्यारेजमा काम गर्ने विष्णु विहेपछि डेरामा बस्ने थाले । एक सन्तानको जन्म पनि भयो । सन्तान जन्मेपछि विष्णुले घरमा लिएर गए जेनीलाई । त्यसअघि उनले जेनीलाई कहिल्यै घर लगेका थिएनन् । त्यहाँ पुगेपछि जेनीले आफू कान्छी श्रीमती भएको थाहा पाइन् । छाँगाबाट एकैचोटी खसेजस्तो भइन् । 

जेनीले आफू विष्णुको कान्छी श्रीमती भएर नबस्ने निर्णय गरिन् । आफ्नै सुर गरेर सहकारीमा काम गर्न थालिन् । निजी विद्यालयमा १० कक्षामा पढ्न थालिन् । काठमाडौँ कालोपुलमा आमासँग बस्दै आएकी जेनीलाई विष्णुले पटकपटक आफूसँग आउन आग्रह गरे तर जेनी मान्दै मानिनन् । 

यसरी प्रहार भयो एसिड 

काभ्रेको एक सुन पसलबाट एसिड किनेर काठमाडौँ कालोपुलमा बुधबार साँझ ८ बजेतिर विष्णुले जेनीमाथि एसिड प्रहार गरेका छन् । प्रहरीका अनुसार भेट्ने अन्तिम इच्छा छ भन्दै कालोपुलमा बोलाएर विष्णुले जेनीमाथि एसिड प्रहार गरेका हुन् । 

एसिड प्रहारपछि जेनीलाई स्थानीयले ओम अस्पताल लगेका थिए । त्यहाँ जेनीको प्राथमिक उपचारपछि उनलाई कीर्तिपुर अस्पताल लगिएको छ । अहिले जेनीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । एसिड प्रहारपछि मोटरसाइकल चढेर भागेका विष्णुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको डीएसपी होविन्द्र बोगटीका अनुसार जेनीलाई एडिस प्रहार गर्न विष्णु योजनाबद्ध ढंगले आएका थिए । महानगरीय प्रहरी वृत्त, कमलपोखरीले उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर बयान लिइरहेको छ ।

गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराधसंहिता अनुसार तेजाब आक्रमण गरेको अभियोग प्रमाणित भए ५ वर्षदेखि ८ वर्षसम्म कैदी वा १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस