विद्यार्थी भर्ना अभियान–२

एउटा सामुदायिक विद्यालय जसले तीन दशकदेखि राज चलाएको छ

सफल खबर संवाददाता

आइतबार, ०८ बैशाख २०७६, १६ : २१
एउटा सामुदायिक विद्यालय जसले तीन दशकदेखि राज चलाएको छ

चितवन । यतिबेला देशभर नै विद्यार्थी भर्ना अभियान चलिरहेको छ । अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी जुटाउन ठूलै पापड बेल्नु परेको छ । घरदैलो गर्दै घुँडोमुन्टो जोत्नु परेको छ । हात जोड्दै विद्यार्थी ल्याइदिन अनुरोध गर्नुपरेको छ, यति नगरे कता विद्यालय नै खाली हुने डर, अथवा अर्कोसँग गाभिन पर्ने त्रास ।
अधिकांश सामुदायिक विद्यालयको हालत दयनीय छ, सबै सामुदायिक विद्यालय कहाँ उस्तै हुन्छन र ! चितवनको एउटा सामुदायिक विद्यालय छ, जसले ३ दशकदेखि विद्यार्थी संख्या र गुणस्तरमा राज गरिरहेको छ । तीन दशकदेखि विद्यालय विद्यार्थी खोज्न धाउनुपरेको छैन, बरु आएका विद्यार्थीहरुलाई फाल्नुपरेको छ । 
विद्यालय हो– भरतपुर १० को नारायणी नमुना मावि । प्रवेश परीक्षा लिन सुरु गरेर तीन दशकदेखि राज गरेको यस विद्यालय दुई दशकदेखि जिल्लामा विद्यार्थी संख्या र गुणस्तरमा एक नम्बरमा परिरहेको छ भने एक दशकदेखि देशकै उत्कृष्ट दसमा परेको छ । ‘के गर्नु हाम्रो बाध्यता हो, आएका सबैलाई राख्न मन छ तर हामीसँग प्रशस्त भवन छैन, कक्षा कोठा छैन, शिक्षक पुग्दैनन् । त्यसैले प्रवेश परीक्षा लिएर अन्यत्र पठाउनु परेको छ’ नारायणी नमुना माविका प्राचार्य पूर्णप्रसाद दवाडीले भने ।
नारायणी नमुना मावि आएका विद्यार्थीहरुलाई विद्यालयले सबैलाई भर्ना लिन सक्ने अवस्था नरहेको हुनाले प्रवेश परीक्षा लिन परेको प्राचार्य दवाडीले बताए । उनले भने, ‘विभिन्न कक्षामा गरी यस वर्ष एक हजार २४७ जनाले प्रवेश परीक्षा दिए, उनीहरुबाट उत्कृष्ट अंक ल्याउने झन्डै ४०० विद्यार्थीलाई मात्र हामी राख्न सक्छौँ, यो हाम्रो बाध्यता हो ।’ 
उनका अनुसार सबै विद्यार्थी राख्न हामीसँग भवन छैन, शिक्षक पुग्दैनन् । गत वर्षकै हाराहारीमा यस वर्ष विद्यार्थी रहने प्राचार्य दवाडीले बताए । अहिले नारायणी नमुना माविमा ७० जना शिक्षक छन्, जसमध्ये ३४ जना मात्र दरबन्दीका शिक्षक छन् । बाँकी सबै निजी स्रोतका हुन् ।
पूर्वमा झापादेखि पश्चिममा सुर्खेत, जुम्लासम्मका विद्यार्थीहरु नारायणी नमुना माविमा पढ्न आइरहेका छन् । नर्सरीदेखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी भाषामा पढाइ भइरहेको छ । कक्षा ११ र १२ मा साइन्स र म्यानेजमेन्टको पढाइ भइरहेको छ । तीन दसकदेखि संस्थागत विद्यालयमा पढेका धेरै विद्यार्थी तथा अभिभावकको रोजाइमा यो विद्यालय परेको छ । 
तीन दशकदेखि पुरस्कार
नारायणी नमुना माविले २०४३ सालबाट पुरस्कार पाउन सुरु गरेको हो । यस विद्यालयले २०४३ सालमा क्षेत्रीय पुरस्कारस्वरुप ५० हजार रुपैयाँ प्राप्त गरेको थियो । वर्सेनि चाहे जिल्ला स्तरमा होस् चाहे राष्ट्रिय स्तरमा होस् त्यस यता कुनै न कुनै पुरस्कार नारायणी नमुना माविले जितेको छ । 
२०६९ सालमा राष्ट्रिय पाँचौं भई पाँच लाख, २०७० सालमा राष्ट्रिय छैटौं भएर पुरस्कार जितेको थियो । 
२०७१ सालमा नेपालकै एक्काइसौँ भएर एक लाखमात्र पुरस्कार जितेको थियो । ‘हाम्रो अलिकति नजिता खस्केको ७१ सालमा हो, त्यसयता र त्यस उता हामी देशभर नै टप दसभित्र परिरहेका छौँ’ विद्यालयका निमित्त प्राचार्य टेकनाथ पौडेलले भने । २०७२ सालमा देशभर दोस्रो, २०७३ सालमा पनि दोस्रो र २०७४ सालमा देशभर चौँथो भएको पौडेलको भनाइ थियो । 
यहाँसम्म नारायणी कसरी ?
२०२० सालमा स्थापना भएको हो नारायणी नमुना मावि । सुरुमा रात्रिकालीन स्कुलको रुपमा सञ्चालन गरिएको थियो । लालटिनको उज्यालोमा विद्यार्थीहरु पढ्ने गर्थे । 
स्थापनाकालमा एउटा झुपडीबाट सुरु भएकोे विद्यालयसँग हाल अहिले ६ बिघा ४ कठ्ठा १४ धुर जग्गामा अवस्थित छ । एक बिघा जग्गा सप्तगण्डकी बहुमुखी क्याम्पसले चलाएको छ । नारायणी नुमना मावि पोलिटेक्निक पनि चलिरहेको छ । जहाँ सिटीईभीटीका कक्षाहरु सञ्चालन भएका छन् । भविष्यमा ९ वटा इन्जिनियरका कक्षाहरु चलाउने विद्यालयले योजना बनाएको छ ।  
२०६९ जेठ ६ गते विद्यालय नमुना भएको हो । १५१ वटा सूचांकहरु पारे गरेर यस विद्यालय नमुना भएको हो । २०२० सालमा ५ जना विद्यार्थीबाट सुरु गरिएको यस विद्यालयमा हाल २५ सय हाराहारीमा विद्यार्थी छन् । पहिलोपटक २०२४ सालमा पाँच जना छात्रले एसएलसी परीक्षा दिए । २०३१ सालमा निमावि कक्षा थप गरी दिउँसोमा निमावि र रातमा मावि सञ्चालन भयो । २०३७ सालपछि निमावि र माविका कक्षा दिउँसो सञ्चालन गर्न थालियो । 
‘शिक्षकको मेहनत, सक्रिय टिम, विद्यालय व्यवस्थापन समितिको लगाव, भरतपुरको केन्द्र भागमा अवस्थित यस्ता धेरै कुराले नारायणी नमुना मावि उत्कृष्ट बन्न सफल भएको हो’ विद्यालयका प्राचार्य तथा शिक्षक महासंघका सहअध्यक्षसमेत रहेका पूर्णप्रसाद दवाडीले भने, ‘टिचर टिमले नै हामी सफल भएका हौँ, हामीमात्र सफल भएर हुँदैन, सबै सामुदायिक विद्यालय सफल हुनुपर्छ, अब सामुदायिक विद्यालय उठ्नुपर्छ ।’ 
उनले विद्यालयलाई सफल बनाउने टिचर टिमले भएको बताए । उनले भने, ‘टिचरले विद्यालयलाई आफ्नो घर ठान्नुपर्छ, १० देखि ४ बजेको जागिरे मानसिकता छोड्नुपर्छ, जहाँ दिनरात लगाव दिएर टिचर खटिन्छन् त्यो स्कुल अवश्य बन्छ, नारायणी यसैकारणले बनेको हो, आवश्यक परेमा शनिबार पनि टिचर स्कुलको लागि खटिन पर्छ ।’

अब आवास र यातायात पनि 
नारायणी नमुना माविले २०० विद्यार्थीहरुलाई आवाससहितको भवन बनाउन मास्टर प्लान शिक्षा मन्त्रालयमा पेश गरेको छ । मन्त्रालयमा आफूले लविङ गरिरहेको प्राचार्य दवाडीले बताए । उनका अनुसार १ अर्ब १११ करोडको मास्टर प्लानसहित मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । 
उनले भने, ‘यातायातको व्यवस्था यही वर्षबाट सुरु गर्नेछौँ, तर अर्को वर्षबाट आवासको व्यवस्था पनि गर्नेछौँ । हाल १ करोड ५० लाखको लागतमा ९ कोठे भवन विद्यालयले बनाइरहेको छ । 
नारायणी नमुना माविले दृष्टिविहीन विद्यार्थीहरुको लागि ब्रेललिपीमा पढाइ सञ्चालन गर्दै आएको छ । निःशुल्क आवास र खानाको सुविधासहित ३२ जना दृष्टिविहीन विद्यार्थीलाई छुट्टै ब्लकमा राखेर पढाउने गरिएको छ । २९ जना बौद्धिक अपाङ्गगता विद्यार्थीहरुलाई पनि नारायणीले आवासीय सुविधा दिएर निःशुल्क अध्यापन गरिरहेको छ । विद्यालयले २०५४ सालदेखि बौद्धिक अपांगता र दृष्टिविहीन भएका विद्यार्थीलाई छात्रवृत्ति र खाजा सुविधासहित विशेष शिक्षा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस