पच्चीस महिनामा पच्चीस लाखले अवलोकन गरे शाश्वतधाम

सूर्यप्रकाश कँडेल

बुधबार, ०४ बैशाख २०७६, १८ : १०
पच्चीस महिनामा पच्चीस लाखले अवलोकन गरे शाश्वतधाम

नवलपरासी । देवचुली नगरपालिकास्थित शाश्वतधाम सर्वसाधारणलाई खुल्ला गरेको २५ महिनामा २५ लाख भक्तजनले अवलोकन गरेका छन् । बुधबार शाश्वतधाममा आएका बाराको कलैया उपमहानगरपालिका निवासी आसमहमत अन्सारी २५ लाख नम्बरको दर्शनार्थी बनेको चौधरी ग्रुपका महाप्रबन्धक मधु पौडेलले जानकारी दिए । 

‘यति सुन्दर र मनमोहक होला भन्ने सोचेकै थिइन । बडो आनन्द आयो’ अन्सारीले भने, ‘यहाँ भ्रमण गर्नेहरुको कुरा सुनेर परिवारसहित आएको थिएँ । साँच्चै अवलोकन गर्नै पर्ने रहेछ ।’ उनको परिवारजनसहित अन्य १० जना आगन्तुकलाई शाश्वतधाम ब्यवस्थापनले फूलमाला र दोसल्लाले स्वागत गरेको थियो । त्यहाँ रहेको एकाम्बरेश्वर मन्दिरको भब्य कलात्मक शैलीले आफूहरुलाई लोभ्याएको र बुद्धिष्ट सेन्टरबाट धेरै ज्ञान सिक्न पाएको आगन्तुक अनिसा बेगम खातुनले प्रतिकृया दिइन् । हिन्दू मन्दिर भए पनि आफ्नो उत्तिकै श्रद्धा रहेको उनले सुनाइन् । 

बुधबार शाश्वतधाममा प्रवेश गरेका आयुवम अन्सारी, राजकुमारी अन्सारी, हिमराम अन्सारी बारा जिल्लाबाट भने टिकाराम बस्याल, कमला बस्याल रुपन्दे्रहीबाट विष्णु चपगाई, हिरा चापगाई, पोखराबाट तीर्थ लामा र करुणा लामालाई सम्मान गरिएको थियो । आसमहमत अन्सारीलाई शाश्वतधामको विशेष दर्शन एवम् परिक्रमाका साथ व्यवस्थापनले विशेष सम्मान गरेको थियो  । बुधबार शाश्वतधाम पुग्ने दर्शनार्थीलाई स्वस्तीवाचन, भजन किर्तनले स्वागत गरिएको थियो । 

नेपाल सरकारले ‘बेस्ट टुरिष्ट डेस्टिनेशन’ को रूपमा शाश्वतधामलाई राखेको छ । त्यो सुनेर यहाँ आउने धोको लिएको ४ महिनामा आएको र यहाँको वातावरण, सरसफाई, बगैंचाले आफूलाई लोभ्याएको टिकाराम बस्यालले बताए । पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकाम्बरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण बनेको छ । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । 

एकाम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दू देवीदेवताका प्रतिमाहरु एकाम्बरेश्वर मन्दिरसँगै रहेका छन् । यस्को भब्य कलात्मक आकर्षक शैलीले नलोभिने कोही छैन । हिन्दू धर्मका मुख्यमुख्य देवीदेउताको एउटै थलोमा दर्शन गर्न पाइने यो मन्दिरको फरक बिषेशता रहेको छ । भब्य र आकर्षक मन्दिर निर्माण गर्न भारतीय ५ दर्जन कालीगढलाई १४ वर्ष लागेको थियो । 

महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कौलीमा करिब ८० बिघामा फैलिएको चौधरी उद्योग ग्राम छ । त्यसैको दक्षिणी हातामा भारतीय शैलीमा निर्माण गरिएको मनमोहक र आकर्षक भब्य मन्दिर रहेको छ । कला, बास्तुशास्त्र अनुसार मिलाएर एकै स्थानमा सबै देवी, देवताको पूजाआजा र दर्शन गर्न सकिने यस्तो फरक शैलीको मन्दिर नेपालमा अन्यत्र छैन । कलात्मकता र सुन्दरताको कारण यो मन्दिरमा सबै धर्मावलम्बीहरुको आकर्षण रहेको छ । 

मन्दिर परिसरमा गुरुकुल बिद्यँश्रम, अखण्ड अग्निकुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञ कुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी स्थल, धार्मिक संग्रहालय, डिजिटल धार्मिक संग्रहालय, धार्मिक पुस्तकालय, हेरिटेज हल, गौशाला, तरकारी फार्म, ध्यान केन्द्र, योगा हल, उपहार घर, चमेना गृह र बैदिक सनातन हिन्दू धर्मसँग सम्बन्धित अन्य महत्वपूर्ण स्थल रहेको छ । त्यहाँ थ्रीडी मूभी हल पनि छ । मन्दिर परिसरमा बैदिक कर्मकाण्ड गुरुकुल पनि संचालनमा छ । त्यहाँ ७२ जना विद्यँर्थीले संस्कृत शिक्षा निःशुल्क अध्ययन गर्दै आएका छन् । 

मन्दिर परिसरमा बौद्ध धर्मको समेत अध्ययनअध्यापन गराउने कामको थालनी भएको छ । एउटै थलोमा संस्कृत र बौद्ध दर्शनको अध्ययन, अध्यापन हुने यो धामको फरक बिषेशता हो । मन्दिरमा हरेक दिन बैदिक बिधिपूर्वक पूजाआजा गरिन्छ । मन्दिर धाम परिसरमा आकर्षक र भब्य बगैंचा रहेको छ ।

प्रतिक्रिया दिनुहोस