गोकर्णको छलाङ : साइकलबाट सुरु गरे व्यापार, यसरी भयो अपार

सफल खबर संवाददाता

विहीबार, ०७ चैत्र २०७५, १४ : ३३
गोकर्णको छलाङ : साइकलबाट सुरु गरे व्यापार, यसरी भयो अपार

चितवन । घरमा पुरानो साइकल त्यसै बसिरहेको थियो । मिलमा धान लिएर कुटाउन जाँदाबाहेक साइकलको कुनै काम हुन्थेन । गोकर्ण गिरीको मनमा चस्का बस्यो, ‘साइकल घरमा त्यसै बसेको छ, यसमा केही सामान लिएर बेच्दै हिँड्न पाए पनि हुन्थ्यो नि !’ ‘साइकलमा बेच्दै त हिँड्ने, फेरि के बेच्ने ? आफूसँग सुको कौडी छैन’ गिरीको मनले यस्तैयस्तै तर्क गरिरहन्थ्यो । 
तरकारी बेच्दै हिँड्ने कि ! कवाडी सामान टिप्ने ! कि हरेक माल भन्दै हिँड्ने ! यस्तै तर्क बितर्कले उनको मनमा डेरा जमाएको थियो । सौराहास्थित घरमा थोत्रो साइकलबाहेक आफूसँग केही छैन । थुइक्क जिन्दगी ! चाहेरमात्र कहाँ हुन्छ र आफूसँग कौडी नभएपछि ।
‘खाने मुखलाई जँगाले छेक्दैन गोकर्ण’ भनेर उनलाई स्कुलका गुरुहरुले ८/९ कक्षामा पढ्दा भनेको कुरा उनको मनमा झल्झली नाचिरहन्थ्यो । उनलाई लाग्यो, ‘ती त गुरुका उखानमात्र रहेछन्, खै त उपाय आएको ?’
मनभरि स्वदेशमै केही गर्नुपर्छ भन्ने हुटहुटि थियो । जिरोबाट उठेका मान्छेका सफलताका कथाहरु उनको मनमा चाङ थियो । उनी मनमनै आफैँलाई भन्थे, ‘म किन उठ्न सकिनँ, म गर्नै सक्दिनँ ?’ 
धैर्य मानिसको साथी भन्ने कुरा उनलाई राम्रोसँग थाहा थियो । पढ्दादेखि नै सुनेका थिए । ‘सुनेर के गर्नु, केही गरुँ भन्दा चाहिन्छ नगद नारायण । त्यो नभएपछि म केही गर्छु भनेर पनि हँदोरहेनछ’ यस्तै कल्पेर गोकर्णको दिनहरु कटिरहेका थिए । 
२०६० सालमा टाँडी बजारमा ‘बाबुसाहेब’ नामको किराना पसल थियो । पसलका मालिक थिए ऋषि ठकुरी । घरकै थोत्रो साइकल चुइँचुइँ पार्दै दालदेखि नुनसम्म किन्न त्यही पसल पुग्थे गोकर्ण । गोकर्ण घरमा बुबाआमाले सामान किन्न त्यही पसल पठाउने गरेका थिए । 
पसलमा आइरहने भएकाले ठकुरीले राम्रोसँग चिन्थे गोकर्णलाई । विस्तारै उनीहरुबीचको सम्बन्ध गाढा बन्दै गइरहेको थियो । उनीहरुबीच लामै कुराकानी हुन थाल्यो । एकदिन गोकर्णले व्यवसायी ठकुरीलाई भने, ‘अंकल मैले पनि केही व्यवसाय गर्छु भनेको तर मसँग पैसा छैन, के गर्ने होला ?’ 
ठकुरीलाई त्यतिबेला लाग्यो, ‘केटो मेहनती छ, कुराकानी गर्न पनि सिपालु छ, इमान्दार पनि छ, यसले केही गर्न सक्छ ।’ ‘के गर्छस् त साइकलमा व्यवसाय ? पसल राख्न त धेरै लगानी चाहिन्छ ?’ ठकुरीले सोधे । गोकर्णले जवाफ दिए, ‘सौराहामा रेष्टरेन्टहरु छन्, खुल्ने क्रम अझ बढिरहेको छ, चुलोचुलोमा साइकलबाट ग्यास लैजाने काम गर्दा हुँदैन अंकल ?’
ठकुरीले मनमनै सोचे, ‘केटोले गर्छ, साइकलबाट ग्यास ओसार्दै लैजान्छु भन्नेले केही पक्का गर्छ । यसलाई सहयोग गर्नैपर्छ, आखिरी सामाजिक काम पनि त हो नि ।’ ठकुरीले ६ महिनाको लागि एक रुपैयाँ पनि व्याज नलिने गरी २ लाख रुपैयाँ दिए । 

गोकर्ण उसबेलाको कुरा सम्झदै भन्छन्, ‘उहाँले मलाई २०६० सालमा २ लाख खनखन्ती गनेर दिनुभयो, अहिले १५ वर्ष भएको छ, यो अवधिमा मेलै ४ करोडभन्दा बढी सम्पत्ति जोडिसकेको छु, उहाँ मेरो लागि भगवान बनेर आउनुभएको रहेछ ।’ 
उहाँलाई सोधियो, ‘२ लाख ऋण कति समयमा तिर्नुभयो ?’ हाँस्दै उहाँले भन्नुभयो, ‘६ महिनालाई उहाँले दिनुभएको थियो, साइकलमा ग्यास ओसारीओसारी ६ महिना नपुग्दै ऋण तिरेको हो ।’ 
सुरुमा सौराहाका रेष्टुरेन्टहरुमा साइकलबाट ग्यास बोक्ने काम गरेका गोकर्ण अहिले रेष्टरेन्टको मालिक बनेका छन् । परिवार नै रेष्टुरेन्टमा खटिएका छन्, उनीमात्र होइन, उनले १४ जना नेपालीलाई रोजगार दिएका छन् । 
हालसम्म गोकर्णले पछाडि फर्केर हेर्नुपरेको छैन । पैसाले पैसा नै फूल पार्दै गएपछि उहाँको कमाइ बढ्दै गइरहेको छ । साइकलबाट रिक्सा, रिक्साबाट मोटरसाइकल, त्यसपछि गाडी लिएर उनले व्यवसाय गरे । अहिले उनले ग्यास व्यवसाय छोडेका छैनन् । यसबाहेक पानीको व्यवसायसहित धूमधडाक तरिकाले होटल पनि चलाइरहेका छन् । 
गोकर्ण भन्छन्, ‘साइकलबाट आज सौराहाको चर्चित रेष्टुरेन्टको मालिक हुन पाउँदा म खुसीले प्रफुल्ल छु, केही गर्ने सोच बनाएर निरन्तर त्यसमा लागियो भने सफलता खोज्न टाढा जानै पर्दैन ।’
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) सौराहाका अध्यक्ष पनि हुन् गिरी । उनै गिरी हिजोआज सामाजिक कार्यमा पनि संलग्न भइरहेका छन् । ‘मैमात्र खाऊँ मैमात्र लगाऊँ भन्ने सोचबाट हामी माथि उठ्नुपर्छ’ गोकर्ण गुनासिए ।  सौराहामा उनले अल फ्रेस्को रेष्टुरेन्ट चलाएका छन् । कामलाई सानो ठूलो नठान्ने गिरीको सफलताको राज महेनत, इमान्दार हो । उनी भन्छन्, ‘मेरो बुबाआमा किसानी हो, बुबाआमाले धेरै दुःख गरेर मलाई यहाँसम्म ल्याउन हौसला दिनुभयो ।’  रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल सौराहा (रेबान) का जन्मदाता पनि हुन् गिरी । उनकै पहलमा सौराहामा फुड फेष्टिबल वर्सेनि चलिरहेको छ । 
‘१४ जना कर्मचारीलाई तलब दिएर, सबै खर्च कटाएर मासिक मेरो कमाइ एक लाखको हाराहारीमा भइरहेको छ’ छुट्टिने बेला उनले भने, ‘ग्राहकलाई भगवान मानेर नै आज ४ करोड बढीको मालिक हुन सकेको छु, अझै धेरै गर्न बाँकी छ, गर्दै जान्छु मेहनत र लगाव ।

प्रतिक्रिया दिनुहोस