काठमाडौँ। टर्कीको संसद्भवनमा बुधबार नयाँ न्यायमन्त्रीको शपथ ग्रहणका क्रममा सत्तारुढ दल र विपक्षी सांसदहरूबीच झडप भएको छ। धकेलाधकेल र मुक्का हानाहानका कारण केही सांसदको अनुहार र हातमा सामान्य चोट लागेको छ।
राष्ट्रपति रजेप तैयप एर्दोगानले इस्तानबुलका पूर्व प्रमुख अभियोजक अकिन गुर्लेकलाई न्यायमन्त्री नियुक्त गरेपछि विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी)का सांसदहरूले विरोध प्रदर्शन गरेका थिए। विपक्षी सांसदहरूले उनलाई रोस्टमसम्म पुग्नबाट रोक्ने प्रयास गर्दा स्थिति नियन्त्रण बाहिर गएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सांसदहरूबीच मुक्का हानाहान र धकेलाधकेलको दृश्य देखिन्छ। विपक्षी दलका वरिष्ठ नेताहरूले गुर्लेकमाथि राजनीतिक प्रतिशोधको आरोप लागेको र उनलाई न्यायमन्त्रीका रूपमा स्वीकार्न नसकिने बताएका छन्। सीएचपीका अध्यक्ष ओजगुर ओजेलले भने, “एर्दोगानले गुर्लेकको नियुक्ति गरेर हाम्रो पार्टीको पहिचानमाथि प्रहार गरेका छन्। लोकतन्त्रको यो उपहास हो। हामी आत्मसमर्पण गर्ने छैनौं।”
सत्तारुढ एके पार्टीका प्रवक्ता ओमार चेलिकले विपक्षीको व्यवहार असंसदीय भएको र जनताको मतबाट चयनित सरकारको नियुक्तिमा अवरोध पुर्याउनु लोकतान्त्रिक चरित्रविपरीत भएको प्रतिक्रिया दिएका छन्। उनले भने, “न्यायपालिका स्वतन्त्र रूपमा चल्ने कुरामा सरकार प्रतिबद्ध छ।”
अकिन गुर्लेक इस्तानबुलका प्रमुख अभियोजक रहँदा इस्तानबुलका लोकप्रिय मेयर एकरेम इमामोग्लु र अन्य सीएचपी नेताहरूमाथि मुद्दा चलाएको आरोप लागेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०८२, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री दाहाल र टर्कीका यातायात मन्त्रीबिच भेटवार्ता
टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो