काठमाडौं। विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) काउन्टरमा उत्रिएको छ। अखिलका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल संस्था’का संस्थापक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गर्ने तयारी गरेका छन्।
अखिलको आकस्मिक बैठकले सोमबार दिउँसो नै प्रहरीसमक्ष उजुरी दर्ता गर्न जाने निर्णय गरेको स्रोतले जनाएको छ। बैठकपछि महासचिव दीपक धामीले नेपाल प्रेससँग कुरा गर्दै, “हामी आजै ५ बजेभित्र जाहेरी दर्ता गराउने तयारीमा छौं,” भने।
अखिलका अनुसार २३ र २४ भदौको आन्दोलनका क्रममा सिंहदरबारलगायत सरकारी संरचनामा आगजनी, निजी सम्पत्ति ध्वंस, र सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्नताको आरोप बालेन र सुधनमाथि लगाइनेछ।
स्रोतका अनुसार जाहेरीमा बालेनले सामाजिक सञ्जालमार्फत हिंसात्मक गतिविधि उक्साएको र सुधन गुरुङको नेतृत्वमा आन्दोलनको नाममा तोडफोड र आगजनी गराएको उल्लेख हुनेछ।
एमाले निकट विद्यार्थी नेताहरूले यो कदमलाई “ओलीमाथि राजनीतिक प्रतिशोधका रूपमा दर्ता गरिएको जाहेरीको जवाफ” भनेका छन्। उनीहरूको भनाइमा, “राज्यले निष्पक्ष छानबिन गर्नुपर्छ — हिंसामा संलग्न जोसुकै भए पनि।”
जाहेरी दर्ताको तयारीसँगै जेन–जी आन्दोलनका घटना र त्यसपछिका गिरफ्तारी मागबीच राजनीतिक द्वन्द्व झन् चर्किँदै गएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, १७ : ३४
लेखकबाट थप