उत्तराखण्ड बाढीपहिरो

धादिङका चार जना सम्पर्कविहीन

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०८२, १० : ४४
धादिङका चार जना सम्पर्कविहीन

 काठमाडौं । भारतको उत्तराखण्डमा मजदुरीका लागि गएका धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई अनुरोध गरेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ,  फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।

उनीहरु कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताए । ‘त्यसपछि हामीले पत्राचार गरेर गृह मन्त्रालयमार्फत् दूतावासलाई जानकारी गराएका छौं,’ उनले भने ।

साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस