हेटौंडाको बजेट २ अर्ब ९० करोड, तेस्रो सन्तान जन्माउन प्रोत्साहन

सफल खबर संवाददाता

मंगलबार, १० असार २०८२, १६ : ३८
हेटौंडाको बजेट २ अर्ब ९० करोड, तेस्रो सन्तान जन्माउन प्रोत्साहन

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगमी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । विनियोजन गरेको बजेट चालु आर्थिक वर्षको भन्दा १९ प्रतिशतले वृद्धि गरी बजेट प्रस्तुत गरिएको हो ।

जुन चालु आवको भन्दा करिब ७ करोड रुपैयाँ बढी हो । उपप्रमुख राजेश बानियाँले मंगलबार १७औं नगरसभामा पेस गरेको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब १९ करोड ५० लाख, आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट विभिन्न अनुदानबाट प्राप्त हुने ११ करोड, ४५ लाख ७५ हजार तथा नगर विकास कोषबाट ऋण ३ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।

उपमहानगरले नगरस्तरीय पूर्वाधार विकासतर्फ ६२ करोड ३९ लाख ४१ हजार, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासतर्फ ४ करोड ६९ लाख ७ हजार रुपैयाँ, शिक्षातर्फ ५ करोड ५१ लाख, स्वास्थ्यतर्फ २ करोड ७८ लाख, युवा तथा खेलकुद विकासतर्फ २ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बानियाँ प्रस्तुत गरेको बजेट पुस्तिकामा उल्लेख छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६ करोड ५० लाख २० हजार रुपैयाँ तथा संस्थागत विकासतर्फ ६३ करोड ५४ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

हेटौंडाले हरियाली, वृक्षारोपण तथा रंगरोगन, सफा हेटौँडा, जलवायु, वन तथा भूसंरक्षण, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र जल उत्पन्न प्रकोप नियन्त्रण, फोहोर मैला व्यवस्थापन, ढल तथा नाला पूर्वाधार, खानेपानी सरसफाइतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ३ करोड १५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, सहिद स्मृति स्थानीय गोल्डकप, उपमेयर कप महिला तथा पुरुष भलिबल, मेयर कप रनिङ शिल्ड, मेयर कप फुटबल जस्ता खेलकुद प्रतियोगिता आयोजना र विभिन्न खेलकुद मैदान तथा पूर्वाधार निर्माण, सीप विकास तालिम, खेल सामग्री सहयोग, खेलकुद प्रतियोगितामा सहभागिता लगायत कार्यक्रमका लागि २ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मेयरसँग स्वरोजगार कार्यक्रम, चिज बनाउने उद्योग, कपाल कटाई, काष्ठकला, मकैको खोस्टा र थाकलको चकटी सम्बन्धी तालिम सञ्चालन गर्न, कोसेली घर सञ्चालन लगायतका उद्योग, वाणिज्य तथा सहकारी तर्फ उपमहानगरपालिकाले ९८ लाख ३६ हजार व्यवस्था गरेको छ । हेटौंडाले आर्थिक विकास क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ४ करोड ६९ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अटोभिलेज पूर्वाधार निर्माण हेटौंडा–११, वाटर फन पार्क हेटौंडा–१४, गड्डा आरती स्थल हेटौंडा– १० का लागि बजेट व्यवस्था गरिएको छ भने निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तेस्रो सन्तान जन्मलाई प्रोत्साहन कोष

हेटौंडा उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन नीति अवलम्बन गरेको छ । केहीवर्ष अगाडिसम्म ‘दुई सन्तान इश्वरको बरदान’ भन्ने नारा अवलम्बन गरेको बागमती प्रदेशको एकमात्र उपमहानगरले आगामी आर्थिक वर्ष २०८२/८३ बाट तेस्रो सन्तान जन्मलाई प्रोत्सहन गर्ने नीति अवलम्बन गरेको हो ।

हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले मंगलबार नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष खडा गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

उपमहानगरले आगामी आर्थिक वर्षमा हेटौंडा अस्पतालमा निर्माण थालनी गरिएको एकसय बेडको बाल तथा प्रसुती कक्षको अधुरो निर्माण कार्यलाई सम्पन्न गरी एनआईसीयू र पीआईसीयू सेवा सञ्चालन गरिने जनाएको छ । एनआईसीयू सेवाको अभावमा हेटौंडामा नवजात शिशुको जन्म समयमा उपचारका चितवन धाउनुपर्ने बाध्यात्मक अवस्था हट्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस