बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिएपछी...

एजेन्सी

विहीबार, ०८ जेठ २०८२, ०८ : ०१
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिएपछी...

File Photo

एजेन्सी । हालै चिनियाँ डाक्टरहरू एक अनौठो घटनाले हैरान परे । एक युवती, जो पहिले धाराप्रवाह रूपमा अंग्रेजी बोल्थिन्, अचानक अंग्रेजी बोल्न नसक्ने भइन्।

ग्वानझाउको गुआङडोङ प्रान्तीय अस्पतालका न्युरोसर्जरी विभागका निर्देशक वान फेङले गत हप्ता २४ वर्षीया एक युवतीको भिडियो साझा गरेका थिए । ती युवती एकदिन कक्षा सञ्चालन भइरहँदा अचानक बिरामी परिन् । 

त्यसपछि उनमा एक अनौठो लक्षण देखापर्‍यो । जसअनुसार उनी पहिले अंग्रेजीमा पूर्ण दक्ष थिइन् तर अब मन्डारिन र क्यान्टोनिज मात्र बोल्न सक्थिन्। उनले अझै पनि अंग्रेजी पढ्न र बुझ्न सक्थिन्, तर कुनै कारणवश बोल्न भने नसक्ने भइन्।

‘उनी मन्डारिन र क्यान्टोनिज दुवै बोल्थिन्,’ वानले भने, ‘तर अंग्रेजी मात्र बोल्न सक्दिन थिइन्। उनले एक वर्षभन्दा बढी विदेशमा अध्ययन गरेकी थिइन्, र उनको अंग्रेजी निकै राम्रो थियो।’ अचानक अंग्रेजी बोल्ने क्षमता गुमाएपछि डराएकी ती युवतीले उपचारका लागि अस्पताल पुगिन् अस्पतालको न्युरोसर्जरी विभागमा भर्ना भइन्।

सुरुमा चिकित्सकहरूले उनको मस्तिष्कको भाषा क्षमतामा असर पर्ने ट्युमरको शंका गरेका थिए । तर एमआरआई रिपोर्टले उनको मस्तिष्कको बायाँ क्षेत्रमा ‘सेरेब्रल ह्यामरेज’ अर्थात मस्तिष्क रक्तस्राव भएको देखायो। यही रक्तस्रावले अंग्रेजी बोल्ने क्षमतामा असर पारेको थियो।

उनीमाथि मस्तिष्कमा दबाब घटाउने शल्यक्रिया गरियो, र त्यसपछि तुरुन्तै उनको अघिल्लो अंग्रेजी बोल्ने क्षमता फिर्ता आयो, जसले गर्दा उनी पुनः विदेशमा अध्ययन गर्न सक्षम भइन्। 

यद्यपि, उनको कथाले सामाजिक सञ्जालमा रमाइला टिप्पणीहरू निम्त्यायो, जहाँ केही प्रयोगकर्ताहरूले विदेशी भाषा राम्रोसँग बोल्न सक्ने बनाउने यस्तो ‘शल्यक्रिया’ आफूमा पनि गर्न मिल्छ कि भन्दै ठट्टा गरे। ‘कस्तो किसिमको अपरेसन हो यो? अपरेसनपछि सीधै अंग्रेजी बोल्न पाइन्छ?,’ एक जनाले ठट्टा गरे।