झापा । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने बित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरू मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ । सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरवासीको आकर्षण बढ्न थालेको हो ।
नगर अस्पतालको सेवामा विविधतासँगै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान हुन थालेपछि अहिले दैनिक चार सयदेखि पाँच सय जनाले सेवा लिन थालेका छन् । स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिइएको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बताइन् ।
‘चौबीसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ’, उनले भने, ‘नयाँ भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा समस्या भइरहेको छ ।’ निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेकाले समस्या भइरहेको नगरप्रमुख प्रसाईंले बताइन् । अहिले नगर अस्पताल १५ शय्याकाे छ । यसलाई २५ शय्याकाे बनाउने लक्ष्य रहेको छ ।
नगर अस्पतालबाट प्रभावकारी रूपमा सेवा प्रवाह हुन थालेपछि विभिन्न जिल्लाबाट नगर अस्पताल सञ्चालनको अवस्था बुझ्न र अनुभव साटासाट गर्न जनप्रतिनिधि आउने गरेको नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताए । अस्पतालले चाँडै डायलाइसिस सेवा सञ्चालन गर्न लागेको छ ।
नगरपालिकामा एक नगर अस्पताल र आठ वडामा आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । तीन करोड ९६ लाखको लागतमा आठवटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइसकेका छन् । १५ करोड ३४ हजारको लागतमा नगर अस्पतालको भवन निर्माणको भइरहेको नगरप्रमुख प्रसाईंले बताइन् । भवन निर्माण भएपछि १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति गरिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु
बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे
चिसोसँगै अस्पतालमा बढ्यो बिरामीको संख्या
अर्घाखाँचीमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको संख्या ३५ पुग्यो, अनुसन्धान जारी
कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी