कान्तिलोकपथ दैनिक ३ घण्टा खुल्ने​​​, २ सिफ्टमा हुँदैछ काम

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, ११ : १९
कान्तिलोकपथ दैनिक ३ घण्टा खुल्ने​​​, २ सिफ्टमा हुँदैछ काम

काठमाडौँ। कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ ।मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो ।

'मर्मत सम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा सवारी साधनका लागि खुला रहने छ । मर्मतको काम जारी छ। अब दुई ‘सिफ्ट’मा काम गरेर शीघ्र सम्पन्न गर्ने लक्ष्य छ', आगामी जेठ १५ गतेसम्म बाटो तीन घण्टासम्म खुल्ने जानकारी दिँदै कान्तिलोकपथ आयोजनका इन्जिनियर रवीन्द्र महर्जनले भने ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बिहीवार भएको बैठकले बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्यान्ह १२ बजेदेखि अपरान्ह ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने निर्णय गरेको हो ।

 

बैठकले उक्त सडकमा छ चक्के र त्यसभन्दा बढी पाङ्ग्रा भएका मालवाहक सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ ।'यो सडक खण्ड एक दशमलव पाँच किलोमिटर  चौडा गर्न लागिएको हो । सडकमाथिका चट्टान काट्न बाँकी रहेकाले उक्त निर्णय भएको हो', इन्जिनियर महर्जनले भने । 

यो सडक  ६७ वर्षदेखि निर्माणाधीन छ । हेटौंडाको बुद्ध चोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लामो सडक विस्तारको जिम्मा बुद्धचोकदेखि–टीकाभैरवसम्मको  ७९ किलोमिटर खण्ड आयोजना कार्यालयले लिएको छ भने बाँकी भाग सडक डिभिजन कार्यालयले बनाउने छ ।

टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पारेको भए पनि स्थानीयले निर्माण गरेका संरचनाका कारण ठेचो–सुनाकोठी खण्ड चौडा हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस