अर्थतन्त्र रूपान्तरण गर्न वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यक : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, ०९ बैशाख २०८१, १६ : ४७
अर्थतन्त्र रूपान्तरण गर्न वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र रूपमा रूपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौँथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति दाहालले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताए । 

विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए ।

‘युवाहरू राष्ट्रका भविष्य हुन् । तसर्थ विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ, ‘प्रधानमन्त्री दाहालले भने, ‘मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल तथा सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न वैज्ञानिक जनशक्ति चाहिन्छ । उनीहरू सिर्जनात्मक र युग सुहाउँदो हुनुपर्छ ।’

विश्व शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा समयानुकूल सुधार गर्दै अघि बढ्न जरुरी रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै उनले विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकमा आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्वविद्यालयले सहयोग गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस