चितवनको राप्तीमा ट्रक र टिपर आपसमा ठोक्किँदा चार जना घाइते

सफल खबर संवाददाता

सोमबार, ०३ बैशाख २०८१, ११ : १५
चितवनको राप्तीमा ट्रक र टिपर आपसमा ठोक्किँदा चार जना घाइते

चितवन  । चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र टिपर ठोक्किएका छन् । लोथरबाट भण्डारातर्फ आउँदै गरेको ना ७ ख ४५७८ नम्बरको टिपर र बिपरित दिशातर्फ जाँदै गरेको ना ८ ख ४०९३ नम्बरको ट्रक आज बिहान ७ बजेको समयमा एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा ट्रक चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१६ बस्ने ३० वर्षीय साजन मगर, ट्रकमा सवार राप्ती–२ बस्ने ३० वर्षीय अमित थापामगर, ट्रकमा सवार हेटौंडा–१६ बस्ने ३० वर्षीय रमेश चौलागाँई र टिपरको सहचालक मनहरी गाउँपालिका–६ बस्ने ३२ वर्षीय पुकार राई रहेका छन् । टिपर चालक फरार रहेको प्रहरीले बताएको छ ।

ट्रकमा सवार साजनको दाँहिने हात र टाउकोमा मध्यम, अमितको घाँटीमा सामान्य र रमेशको टाउकोमा मध्यम चोट लागेको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । टिपरमा सवार पुकारको दाहिने हातमा मध्यम चोट लागेको उनले बताए ।

फरार रहेका टिपर चालकको खोजतलास भइरहेको भण्डारीले जानकारी दिए ।