अब आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट चल्ने

रासस

बुधबार, २८ चैत्र २०८०, १४ : ०२
अब आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट चल्ने

काठमाडौँ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा पर्ने मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ ।

२ वैशाखदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक विष्णु ढकालले जानकारी दिए । मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्न आँबुखैरेनी गाउँपालिकाले ९ पुसमा बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटरबोट सञ्चालन सम्झौता गरिसकेको छ ।

२ वैशाखमा उक्त मोटरबोट सेवाको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । उक्त जलाशयमा तत्काल १ करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको सञ्चालक ढकालले बताए ।

नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने छ ।मोटरबोट सञ्चालनले मर्स्याङ्दीलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस