नेसपा महिन्द्र पक्षमा ८५ जनाले हस्ताक्षर गरेको दाबी

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, १६ : २८
नेसपा महिन्द्र पक्षमा ८५ जनाले हस्ताक्षर गरेको दाबी

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादव पक्षमा अहिलेसम्म ८५ जनाले हस्ताक्षर गरेको दाबी गरिएको छ ।अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको सोमबार बसेको केन्द्रीय समिति बैठकले महिन्द्र पक्षका नेताहरूलाई पदमुक्त गरेपछि यादव पक्षले हस्ताक्षर अभियान चलाएको हो ।

यसैबिच महिन्द्र पक्षको आकस्मिक केन्द्रीय समिति बैठक अहिले नयाँ बानेश्वरमा जारी छ । पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा बैठकले निर्णय गर्ने महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।

‘हामी पार्टी पुगर्ठनको तयारीमा छौँ । यस विषयमा छलफल जारी छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकले निर्णय गर्छ’, उनले भने ।पदाधिकारीमा अध्यक्ष, सहअध्यक्ष र महासचिव आफैसँगै भएकाले फेरबदल नहुने उनले बताए । यस्तै उनले प्रदेशमा रिक्त भएका ठाउँमा पदपूर्ति हुने बताए ।

यादवकाअनुसार सात प्रदेशमध्ये मधेस प्रदेश, बागमती प्रदेशमा अध्यक्ष र इन्चार्ज महिन्द्र पक्षमै रहेका छन् । यस्तै कोशी, गण्डकी र लुम्बिनीमा अध्यक्ष र इन्चार्ज बाबुरामतर्फ गएका छन् । कर्णालीमा र सुदूरपश्चिममा इन्चार्ज महिन्द्र पक्षमा भएपनि अध्यक्ष बाबुरामतर्फ गएको उनले जानकारी दिए ।  यसैगरी कार्यकारिणी समितिमा १२ जना रहेको उनको दाबी छ ।  

प्रतिक्रिया दिनुहोस