जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

सफल खबर संवाददाता

विहीबार, ०१ चैत्र २०८०, १४ : २३
जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्बन गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नवीन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्ने प्रयासमा सरकारले काम गरिरहेको बताएका हुन् ।

उनले स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्वलाई ध्यानमा राखी सरकारले मुख्यतया अनुकूलनका साथै न्यूनीकरणका उपायहरू अवलम्बन गरिरहेको जिकिर गरे ।उनले भने, ‘जलवायु परिवर्तनको प्रभावबाट नेपाल धेरै प्रभावित भएको कुरा हामी सबैलाई थाहा छ । जलवायु परिवर्तन, जसको लागि हामी जिम्मेवार छैनौँ । नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्दै आएको छ ।

जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्ने प्रयासमा हामी लागिरहेका छौँ । स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्वलाई ध्यानमा राखी हामीले मुख्यतया अनुकूलनका साथै न्यूनीकरणका उपायहरू अवलम्बन गर्दै आएका छौँ । नेपालले दक्षिण एसिया क्षेत्रमा पहिलो राष्ट्रको रूपमा राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना बनाएको छ र जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू गरिरहेको छ ।

विभिन्न तहमा वकालत, स्वास्थ्य व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान अध्ययन, जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधीता र वातावरणीय दिगोपन हामीले कार्यान्वयन गर्दै आएका केही उदाहरण हुन् । हाम्रा न्यूनीकरण उपायहरूले राष्ट्रिय र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न केही हदसम्म योगदान पु¥याउनेछ भन्ने हामी दृढ विश्वास गर्छौँ ।’

मन्त्री यादवले सरकारले स्वास्थ्य व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान अध्ययन, जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधीता र वातावरणीय दिगोपन हामीले कार्यान्वयन गर्दै आइरहेको बताए । न्यूनीकरण उपायहरूले राष्ट्रिय र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न केही हदसम्म योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।  

प्रतिक्रिया दिनुहोस