प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक पाए विश्वासको मत : पक्षमा १५७ र विपक्षमा ११० मत

प्रधानमन्त्रीलाई संसद्को विश्वास

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, १५ : ५४
प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक पाए विश्वासको मत : पक्षमा १५७ र विपक्षमा ११० मत

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् ।बुधवार प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डले १५७ मत पाएका हुन् । विपक्षमा ११० मत पर्‍यो । बहुमतका लागि १३८ मत आवश्यक पर्नेमा प्रचण्डले १९ मत बढी पाए ।

 

२६८ सांसद उपस्थित भएकोमा १ सांसदले पक्ष/विपक्ष कतै पनि मत दिएनन् ।प्रचण्डलाई नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मत दिएका थिए । 

 

 

नेपाली कांग्रेस, राप्रपा, जनमत, लोसपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गरे । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि प्रचण्डले संसद्मा तेस्रोपटक विश्वासको मत लिएका हुन् । 

यसअघि प्रचण्डले २०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यो बेला प्रचण्डले २७५ मध्ये २६८ सांसदको समर्थन पाएका थिए ।२०७९ चैत ६ गते प्रचण्डले दोस्रोपटक विश्वासको मत लिएका थिए । त्यो बेला प्रचण्डले संसद्का १७२ सांसदको समर्थन पाएका थिए । 

नेकपा एमालेसहितका दलको समर्थनमा प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । 

प्रतिक्रिया दिनुहोस