कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर दाेस्राे पटक पुन: उत्कृष्ट

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, १८ : ५६
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर दाेस्राे पटक पुन: उत्कृष्ट

चितवन । आ.व. २०७९/८०को प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक नतिजामा भरतपुर महानगरपालिका पहिलाे भएकाे छ। प्रदेश र स्थानीय सरकारहरुको प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार स्थानीय तहको नतिजामा पुन: पहिलाे हुन सफल भएकाे छ ।

कार्यसम्पादन मूल्यांकनमा स्थानीय तहको नतिजा पनि निराशाजनक छ । १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गर्दा धेरैजसो स्थानीय तहरु ३० अंक घटाउन पनि असफल छन् । स्थानीय तहमध्ये महानगरपालिकामा सबैभन्दा धेरै अंक भरतपुर महानगरपालिकाले ल्याएको छ ।

भरतपुरले ५६.२९ अंक ल्याएको छ भने काठमाडौंले ३९.०२, वीरगञ्जले ३३.४९, विराटनगरले ३२.८५, ललितपुरले २५.१८, पोखरा २०.७४ अंक पाएको छ । १० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएकोलगायतका आधारमा मूल्याकंन गरिन्छ । स्थानीय तहले आगामी आवको आय/व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहले समेत बजेटको वार्षिक समिक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गरे-नगरेकोजस्ता आधारमा पनि अंक दिइन्छ ।

आन्तरिक राजस्व संकलनको प्रक्षेपित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग लगायतका पक्ष पनि हेरिन्छ । स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र स्थानीयस्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/नगरेको पनि मूल्यांकन हुन्छ । स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको संख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्यालाई समेत सूचकमा राखिएको छ । यस्ता सूचकहरुमा गरिएको मूल्यांकनका आधारमा धेरै स्थानीय तहको प्राप्तांक ५० भन्दा कम छ ।

वित्त आयोगका नीति विश्लेषण तथा व्यवस्थापन महाशाखाका उपसचिव नारायणप्रसाद अधिकारी प्रारम्भिक रुपमा प्रकाशित नतिजामा प्रदशे र स्थानीय तहको गुनासो सुनेर केही दिनमै अन्तिम नतिजा सार्वजनिक हुने बताउँछन् । ‘यो अन्तिम नतिजा हैन, कुनै प्रदेश र स्थानीय तहले यसमा दिएको अंकमा केही प्रतिक्रिया दिएर त्यसको उचित सुनुवाइ गरेर अन्तिम नतिजा सार्वजनिक गर्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस