पानामा तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा चारको मृत्यु सात बेपत्ता

एजेन्सी

विहीबार, ०३ फागुन २०८०, १५ : १५
पानामा तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा चारको मृत्यु सात बेपत्ता

पानामा सिटी । खराब मौसमका कारण पानामाको उत्तरपूर्वी तटमा डुङ्गा पल्टिदा चार आप्रवासीको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको पानामाका अधिकारीहरूले बुधबार बताएका छन् ।

मध्य अमेरिकी देशको राष्ट्रिय सीमा सेवाले गरेकोे पोस्ट तथा स्थानीय सञ्चारमाध्यमको रिपोर्टअनुसार दुर्घटनामा परेका अन्य १४ जना सुरक्षित छन् । कोलम्बियाबाट आएको उक्त डुङ्गा पानामाको गुना यला आदिवासी प्रान्तको क्यारेटो समुदाय नजिकै पल्टिएको थियो । अध्यागमन अधिकारीसँगको समन्वयमा शवहरूको व्यवस्थापन तथा जिवित मानिसहरूको उद्धार गर्ने कार्य जारी रहेको छ ।
प्रत्येक वर्ष हजारौँ आप्रवासी कामको खोजीमा पानामामा प्रवेश गर्ने प्रयास गर्छन् ।

विशाल वन क्षेत्र तथा र दलदलबाट ६० माइल वरपर फैलिएको, डेरियनलाई विश्वको सबैभन्दा खतरनाक बसाईसराइँ मार्गहरूमध्ये एक मानिन्छ । सेनाका अनुसार डेरियन पदमार्ग नभई घना जङ्गल हो । सेनाले हालसालै अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनहरूद्वारा आप्रवासी तस्करीको सामना गर्न आप्रवासी डुङ्गाहरूको बढ्दो आगमन रोक्न गस्ती र अन्य उपायहरू बलियो बनाएको बताएको छ ।

सन् २०२३ मा मात्रै पाँच लाख २० हजार ८५ आप्रवासी कोलम्बियाबाट पानामा ड्यारियन सीमा क्षेत्र हुँदै गएका थिए । यसैगरी सन् २००९ देखि २०२२ सम्म यही मार्गबाट आएका पाँचलाख १४४ भन्दा बढी आप्रवासी रहेको पानामाको राष्ट्रिय आप्रवासी सेवाको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस