राष्ट्रियसभा निर्वाचन

मतदान अन्तिम चरणमा, ३ बजेदेखि मतगणना शुरू हुने

सफल खबर संवाददाता

विहीबार, ११ माघ २०८०, १४ : १२
मतदान अन्तिम चरणमा, ३ बजेदेखि मतगणना शुरू हुने

काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत जारी मतदान अन्तिम चरणमा पुगेको छ । सातै प्रदेशमा अधिकांश मतदाताले मतदान गरिसकेका छन् ।  बाँकी रहेका मतदाताले दिउँसो ३ बजेसम्म मतदान गर्न पाउने छन् । आज बिहान ९ बजेबाट मतदान शुरू भएको थियो ।

कर्णालीमा शतप्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन् ।

कोशी प्रदेशमा अहिलेसम्म प्रदेशसभाका ९३ जना प्रदेश सभा सदस्यले मतदान गरेको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताए । बुढाथोकीका अनुसार ४ जना स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्न बाँकी छ ।बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको छ । यस्तै, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र मधेश प्रदेशमा पनि निर्वाचन अन्तिम चरणमा पुगेको सम्बन्धित निर्वाचन कार्यालयहरूले जनाएका छन् । 

 

 

फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान भएको हो । एक पद भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गरेका छन् । सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता छन् । जसमध्ये कोशीमा कुल ३६७ मतदाता छन् । मधेशमा ३७४ र वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । 

राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।

निर्वाचनमा हाल कायम प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ ।

मतदान सकिएलगत्तै आजै मत गणना शुरू हुनेछ । आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया दिनुहोस