सोमालियामा फसेको जहाजबाट २१ जनाको सकुशल उद्धार

एजेन्सी

शनिबार, २१ पुस २०८०, ०९ : १३
सोमालियामा फसेको जहाजबाट २१ जनाको सकुशल उद्धार

एजेन्सी । भारतीय नौसेनाले सोमालियामा फसेको मालवाहक जहाजमा रहेका १५ भारतीयसहित २१ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।

भारतीय मिडियाका अनुसार, मालवाहक जहाज (एमभी लिला नरफक)को खोजीमा चलाइएको ‘सेनिटेसन मिसन’मा नौसेनाले कोही अपहरणकारी फेला पारेन । 

नेभीले भारतीय कमाण्डोले मालवाहक जहाजबाट मानिसहरूलाई उद्धार गरिरहेको तीन भिडियोसमेत सार्वजनिक गरेको छ । 

ब्राजिलदेखि बहराइन जाँदै गरेको लाइबेरियाली झण्डावाला जहाज एमभी लिला नरफक हराएको पहिलो खबर बिहीबार साँझ आएको थियो । 

जहाजमा रहेका चालक दलका सदस्यका तर्फबाट बिहीबार युके मेरिटाइम ट्रेड अपरेसन्सलाई एक सेन्देश पठाइएको थियो । रणनीतिक समुद्री मार्गमा जहाजहरूको चाल ट्रयाक गर्ने युके मेरिटाइम ट्रेड अपरेसन्स बेलायत सेनाको संगठन हो । 

चालक दलबाट पठाइएको सन्देशमा जहाजमा ५/६ जना हतियारधारी मानिस चढेको बताइएको थियो । 

त्यसपछि बिहीबारै यो खबर भारतीय नौसेनालाई दिइयो । अनि सिप र यसमा फसेका चालकदलका सदस्यलाई सुरक्षित बाहिर निकाल्न प्रयास सुरु गरिएको थियो । यद्यपि, जहाजमा कुनै अपहरणकारी वा हतियारधारी व्यक्ति नभेटिएको भारतीय नौसेनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस