राष्ट्रियसभामा सत्तापक्ष-प्रतिपक्षको गठबन्धन अलोकतान्त्रिक चरित्र : नैनसिंह महर

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०८०, १२ : १४
राष्ट्रियसभामा सत्तापक्ष-प्रतिपक्षको गठबन्धन अलोकतान्त्रिक चरित्र : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दु:खद भएको बताएका छन् ।काठमाडौंमा भ्रातृसंस्थाका नेताहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभामा सीटको भाग खोज्नु र सत्ता गठबन्धनका दलहरू भाग दिने पक्षमा सकरात्मक हुनु दु:खद भएको बताए।

बुधबार दिउँसो बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा मिलेर जान प्रस्ताव राखेको सुनाएका थिए । प्रधानमन्त्रीको उक्त प्रस्तावसँगै कुर्सी प्राप्तिका लागि मुलुकमा प्रमुख प्रतिपक्षी नै नरहने अवस्था सिर्जना हुन खोजेको भन्दै महरले चिन्ता व्यक्त गरेका छन् ।

महरले अहिले नेताहरूमा दोधारे चरित्र देखिन खोजेको आरोप लगाए ।‘विकास, समृद्धि र सुशासनका लागि नेताहरू एक ठाउँमा आउनु स्वागतयोग्य कुरा हो । तर, विकास र समृद्धिमा सधै नेताहरूमा मतभेद पाइन्छ । कुर्सी र सत्ता प्राप्तिका लागि भने जस्तोसुकै सम्झौता गर्न राजनीतिक दल पछि हट्दैनन् । यो लोकतन्त्रका लागि लज्जाको विषय हो । जनभावनाविपरीतको विषय हो । अझभन्दा यो दूराशययुत्त विषय हो’, महरले भने।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले नै सत्तासँग बार्गेनिङ गरेपछि नेताहरूको चर्को आलोचना भइरहेको छ ।चुनावमा गठबन्धन गरेर जाने सत्तारुढ दलले निर्णय गरेपछि एमाले नेताहरूको अश्वभाविक दौडधुप बढ्नु र सत्ता गठबन्धनका नेताहरूले पनि अनावश्यक छलफल गर्नु लोकतन्त्रको मर्मविपरीत भएको महरले बताए ।

‘एमालेको प्रस्तावमा सत्ता गठबन्धनले अनावश्यक छलफललाई सघन बनाउनुको कारण के होला ? आरामदायी बहुमत रहेको गठबन्धन लोकतन्त्रको मर्मअनुरूप चल्नुपर्छ,’ महर भन्छन्।

फागुन २० गतेबाट रिक्त हुने २० पदमध्ये १९ पदमा निर्वाचन हुनेछ । एक सीटमा भने राष्ट्रपतिले मनोनयन गर्ने छन् । सत्ता गठबन्धन एक रहेसम्म एमालेले अहिले रिक्त हुन लागेको सीटमा एक पद पनि जित्न सक्ने अवस्था छैन । त्यसैले एमालेले दलहरूलाई विभिन्न प्रस्ताव राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस