एनएसएलः अतिरिक्त समयमा गोल फर्काउँदै झापाले पोखरासँगको हार टार्‍यो

सफल खबर संवाददाता

शनिबार, १६ मंसिर २०८०, १५ : ४७
एनएसएलः अतिरिक्त समयमा गोल फर्काउँदै झापाले पोखरासँगको हार टार्‍यो

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को जारी दोस्रो संस्करणअन्तर्गत शनिवार भएको खेलमा अतिरिक्त समयमा गोल गर्दै झापाले पोखरासँगको हार टारेको छ । रक्षक सामान्डर ओकिलोभले गोल गरेपछि झापाको हार टारेको हो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा पोखराले गरेको गोल निर्णायक बन्नै लाग्दा झापाले अन्तिम समयमा गोल फर्काएपछि खेल १–१ को बराबरीमा टुंगिएको छ । बराबरीसँगै पोखराले तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । पोखरा दोस्रो स्थानमा कायम छ ।

 

यसअघि खेलको १८औं मिनेटमा मोसेस ग्याबा टुमले गरेको गोलले पोखराले अग्रता लिएको थियो ।निर्धारित समय सकिन एक मिनेट बांकी छँदा पोखरा १० खेलाडीमा झरेको थियो । दोस्रो हाफमा मात्र मैदान छिरेका मिडफिल्डर कमलबहादुर थापा दोहोरो पहेँलो कार्ड खाएका थिए ।

 

 

पहिलो खेलमा इलामसँग १–० ले पराजित भएको झापा एक अंकका साथ सातौं स्थानमा छ ।शनिवार नै दिनको दोस्रो खेलमा साविक उपविजेता धनगढी एफसीले ललितपुर सिटी एफसीको सामना गर्दैछ । खेल साँझ ५ः३० बजे शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस