सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, २६ कार्तिक २०८०, १६ : ०७
सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन् । आइतवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९ औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको स्पष्ट पारेका हुन्  ।

उनले आफुहरुले भूकम्पपछि कत्ति पनि ढिलो नगरी त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट र खाद्यान्नहरु पठाएको र पठाउने क्रम जारी रहेको बताए ।‘हामीले एक क्षण, एक सेकेण्ड ढिलो नगरीकन पठाउन सकिने सम्पूर्ण त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट, खाद्यान्नहरु पठाइराखेका छौँ । राहतमा हाम्रो ध्यान गएको छ । हाम्रो साधन, स्रोतले भ्याएसम्मका सामानहरुको हकमा हामीले व्यवस्था गरेका छौँ तर पु¥याउने साधन त चाहियो ।

स्काइ भ्यान प्रयोग गरेपनि सुर्खेतसम्म जान्छ । सबै ठाउँमा जाँदैन । सुर्खेतबाट क्यारी गर्नैपरयो’ उनले भने– ‘सरकारले जतिसुकै तदारुकता देखाएपनि एकैचोटी पहिलो दिन सबै ठाउँमा त्रिपाल, सबै ठाउँमा म्याट्रेस, सबै ठाउँमा ब्याङ्केट पुर्याउन सक्ने स्थितिमा हुँदैनौँ । तर सरकारले कति पनि उपेक्षा गरेको छैन ।

गृहमन्त्री श्रेष्ठले सरकारसँग भएको साधन र स्रोतकाअनुसार राहत पठाइरहेको बताए । उनले आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरु पनि उपलब्ध गराइएको जानकारी दिए ।

उनले भने, ‘हामीसँग भएको साधन, स्रोतको आधारमा सम्पूर्ण ध्यान त्रिपाल, म्याट्रेस, ब्ल्याङ्क्वेट र खाद्यान्न पुर्याउने र डाक्टरहरुको आवश्यकताअनुसार उपलब्ध गराउने स्वास्थ्य उपकरण, औषधि उपलब्ध गराउने काम गरेका छौँ । यो कुरा विश्वसनीय ढंगले म सबैलाई जानकारी गराउन चाहन्छु ।’ उनले अस्थायी आवास बनाउनका लागि ढिलो गर्नु नहुने पनि बताए । 

प्रतिक्रिया दिनुहोस