साल्ट ट्रेडिङ्गले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने, उपभोक्तालाई प्रतिकेजी १ सय १५

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, १४ : ३४
साल्ट ट्रेडिङ्गले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने, उपभोक्तालाई प्रतिकेजी १ सय १५

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङ्गले खुद्रा व्यापारीलाई दश बोरासम्म चिनी दिने भएको छ ।  बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङ्ग मार्फत किन्ने प्रबन्ध गरेको थियो । यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले टोलीले राजधानी काठमाडौँका विभिन्न स्थानमा अवैधरुपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो ।

उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङ्गले आफ्ना आउटलेट, खुद्रा विक्रेता सङ्घ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारिले समेत दश बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन् । 

यो चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारवाही हुने छ । खुद्रा व्यापारी तथा व्यवसायीहरुले आजदेखि साल्ट ट्रेडिङ्गको कालिमाटी शाखा र भोलीदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस