महिला भलिबलमा नेपालको सान्त्वना जित

सफल खबर संवाददाता

शनिबार, २० असोज २०८०, १२ : ०१
महिला भलिबलमा नेपालको सान्त्वना जित

काठमाडौं । मंगोलियामाथि सान्त्वना जित हात पार्दै नेपालको महिला भलिबल टिमले चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदको यात्रा सकाएको छ । शनिबार देकिङ स्पोर्ट्स सेन्टर जिम्नयासियममा भएको क्लासिफिकेसन म्याचमा नेपालले मंगोलियालाई ३-२ को सेटमा पराजित गरेको हो ।

यस जितपछि नेपाल १३ टोली सम्मिलित एसियाडको महिला भलिबलमा ११औं भएको छ । यसअघि नेपालले लगातार चार खेल हारेको थियो ।मंगोलिया विरुद्ध पहिलो सेट २५-१७ ले गुमाएको नेपालले त्यसपछि कमब्याक गर्दै लगातार दुई सेट जितेको थियो । दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै नेपालले खेलमा २-१ को अग्रता बनाएको थियो ।

तर चौथो सेटमा नेपालले लय कायम राख्न नसक्दा मंगोलियाले २५-१८ ले जित्दै खेल २-२ को बराबरी अवस्थामा पुर्‍यायो । पाँचौ तथा अन्तिम सेट १५-१२ ले आफ्नो पक्षमा पार्दै नेपालले प्रतिस्पर्धात्मक खेल जितेको हो ।

पहिलो पटक एसियाडमा सहभागिता जनाएको नेपालको महिला भलिबल टिमले समूह चरणको दुवै खेलमा हार बेहोरेपछि क्लासिफिकेसन म्याच खेल्नुपरेको हो ।समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग समान ३-० को सेटमा पराजित भएको थियो । त्यसपछि क्लासिफिकेसन म्याचमा भारतसँग ३-१ र हङकङसँग ३-० को सेटमा पराजित भएको थियो ।

पहिलो पटक एसियाडमा सहभागी भएको मिहला भलिबल टिमका लागि यो एक्सपोजर र अनुभव बटुल्ने अवसर बन्यो ।

प्रतिक्रिया दिनुहोस