एसियाली खेलकुद : बंगलादेशलाई ९ विकेटले हराउँदै भारत फाइनल प्रवेश

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १० : २३
एसियाली खेलकुद : बंगलादेशलाई ९ विकेटले हराउँदै भारत फाइनल प्रवेश

एजेन्सी । चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटको सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ।

योसँगै भारतीय क्रिकेट टोलीले कम्तीमा रजत पदक पक्का गरेको छ।

भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए। बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो। 

बंगलादेशका लागि जाकिर अलीले सर्वाधिक २४ रन बनाए भने परवेज हुसेनले २३ रन बनाए। भारतका लागि साई किशोरले १२ रनमा ३ विकेट लिए। 

वासिङ्टन सुन्दरले दुई विकेट लिए। ९७ रनको लक्ष्य भारतले १०औं ओभरमै एक विकेट गुमाएर पूरा गरेको थियो। 

तर, अन्तिम खेलका नायक यशस्वी जैसवाल भने कुनै रन बनाउन नसकेर पवेलियन फर्किए।

तर कप्तान ऋतुराज र तिलक बर्माले भारतलाई सहज जित दिलाए। ऋतुराजले ४० रनको अविजित इनिङ्स खेले भने तिलक बर्माले ५५ रनको अविजित इनिङ खेले। 

भारत अब फाइनलमा अफगानिस्तान र पाकिस्तानको खेलको विजेतासँग भिड्नेछ।

प्रतिक्रिया दिनुहोस