आर्थिक समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने कांग्रेसको लक्ष्य हो : अर्थमन्त्री महत

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०८०, १३ : १६
आर्थिक समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने कांग्रेसको लक्ष्य हो : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताएका छन्। नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका उनले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ ९(२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो,’ उनले भने, ‘समृद्धि केही व्यक्तिमा सीमित हुनुभएन । समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।

डा.महतले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क समेत गरे । भने, ‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो ।’ कोही व्यक्ति छैन भने अर्को आउँने भएकाले पार्टी अविछिन्न तरिकाले अघि बढ्ने महतको भनाई छ ।

‘एक्लैले केही हुनेवाला छैन, हामी सबैमा भएको क्षमता र गुणलाई जोडौं भने मात्र कायापलट हुन्छ,’ उनको भनाई छ । यथार्थमा कांग्रेस कार्यकर्ताले त्योभन्दा बढी यो समाजमा सहयोग गरिरहेका बताउँदै यी कुरा भिडियो खिचेर देखाउनुपर्छ भनेर हामीले नसोचेको बताए । सोहीकारण यस्ता काम सधैं गरिरहेको उनले बताए । तर कांग्रेसले देखाउनका लागि मात्र काम नगरेको समेत उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस