प्रस्तावित शिक्षा ऐनको विरोधमा मन्त्रालयअगाडि धर्ना

सफल खबर संवाददाता

विहीबार, ३२ साउन २०८०, १६ : ३५
प्रस्तावित शिक्षा ऐनको विरोधमा मन्त्रालयअगाडि धर्ना

काठमाडौं। संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै शिक्षकहरूले बिहीबार सातवटै प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन् ।नेपाल शिक्षक संघको नेतृत्वमा विभिन्न दल निकट शिक्षक संघ–संगठनहरूले धर्ना दिएका हुन ।

सरकारले प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षक र विद्यालयका कर्मचारीहरूको घाँटी निमोठ्ने गरी संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।शिक्षक महासंघसँग सरकारले गरेको ५१ बुँदे सम्झौता कार्यान्वयनमा आउने गरी ऐनमा समेटिनु पर्ने प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हिक्मतबहादुर बस्नेतले बताए ।

 

‘शिक्षकहरूलाई पालिकास्तरमा जिम्मा लगाउने गरी ऐन ल्याउन खोजिएको  छ,’ उनले भने ‘स्थानीय तहले शिक्षकहरूका माग सम्बोधन गर्न सक्दैनन् ।’ स्थायी, अस्थायी, करार, राहत, साबिक उच्च मा.वि, बाल विकास, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक र विद्यालय कर्मचारीका माग तथा मुद्दाहरूको सम्बोधन नगर्ने गरी अहिलेको सरकारले ऐन जारी गर्न खोजेकाले आन्दोलनमा उत्रिन बाध्य हुनु परेको नेपाल राष्ट्रिय शिक्षक संगठनका कार्यबाहक अध्यक्ष दण्डपाणि भट्टराईले बताए । 

महासंघको सरसल्लाह नगरी निजामती कर्मचारीहरूले शिक्षकलाई पेल्ने गरी ऐनको मस्यौदा बनाएको सुकुना माध्यमिक विद्यालयका प्रअ नारायणप्रसाद गौतमको आरोप छ। शिक्षक तथा कर्मचारीको हितविपरीतका व्यवस्थाहरू सरकारले सुधार नगरे कडा आन्दोलन थालिने चेतावनी समेत शिक्षकहरूले दिएका छन् ।अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने उनीहरूले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस