६० किलो सुन बरामद प्रकरण : थप चार चिनियाँ नागरिक पक्राउ

सफल खबर संवाददाता

बुधबार, ३१ साउन २०८०, १६ : ३५
६० किलो सुन बरामद प्रकरण : थप चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतका अनुसार, पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति राजधानीका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजश्व छलि तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगिएको कठायतले बताए ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । तर, मंगलबार  गालेर जोख्दा ६० किलो मात्रै सुन भएको खुलेको थियो । विभागले गरेको पत्राचारका आधारमा कालोसूचीमा परेका तीन चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेर सोमबार ब्यूरोलाई बुझाएको थियो । तीमध्ये कसैको पनि सुन तस्करी प्रकरणमा संलग्नता नदेखिएको भन्दै सीआईबीले छाडेको छ ।

जोङ छ्याङ चाहिएको बेला उपस्थित हुने गरी छुटेका छन् भने झाओ हुई र ताङ जिङको साथमा ३१ लाख ८० हजार रुपैयाँ बरामद भएकाले थप कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रकरणमा १९ दिनसम्म अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले थप अनुसन्धानका लागि भन्दै सीआईबीलाई अनुसन्धानको सम्पूर्ण विवरण जिम्मा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस