खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेतको आदेश

सफल खबर संवाददाता

बुधबार, ३१ साउन २०८०, १६ : ११
खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेतको आदेश

कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गरेका थिए ।

 

न्यायाधीश नवराज थपलियाको एकल इजलासले आर्थिक वर्ष २०८०/८१ को कुनै पनि बजेट कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । नगरप्रमुख कमलबहादुर शाही र नगर उपप्रमुख गणेशबहादुर शाहीविरुद्ध यही साउन ११ गते नगरपालिकाका वडाध्यक्षले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

 

सार्वजनिक गरिएको बजेटमा वडाका कुनै योजना नसमेटिएको, मनोमानी बजेट ल्याएको, जनतामुखी नभई जनप्रतिनिधिमुखी बजेट बनाएकोलगायतका विषयमा नगरपालिकाका ११ वडाध्यक्षको समर्थनमा नौ जनाले उजुरी दिएको वडा नं ४ का वडाध्यक्ष प्रमानन्द आचार्यले जानकारी दिए । 'नगरपालिकाले असार १० गते पास गरेका योजना नपरेपछि हामी अदालत गएका थियौँ,' उनले भने, 'अहिले अदालतले कार्यान्वयन नगर्न फैसला गरेको छ ।'

प्रतिक्रिया दिनुहोस