बर्खामा सडक अवरुद्ध भएपछि ढुवानी गर्न घोडा खच्चडको भर

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, ०७ : ३४
बर्खामा सडक अवरुद्ध भएपछि ढुवानी गर्न घोडा खच्चडको भर

काठमाडौ । वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला-ठूला ढुंगा मुडासहितको पहिरो थुप्रिएको छ। पहिराेले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन।

बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन्। सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन्।

गाउँ-गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा खच्चड पाल्न छोडे। गाडीले नै दैलो अगाडि आवश्यक सामान पुर्‍याइदिएपछि घोडा खच्चडको आवश्यकता पनि किन होस् र? तर बर्खाको समय सामान ढुवानी गर्ने प्रमुख साधान नै घोडा खच्चड बनेका छन्।

डेढ दशक अगाडिसम्म अधिकांश ग्रामीण क्षेत्रमा लामबद्धरूपमा खच्चडले भारी बोकेको देखिन्थ्यो। टाढा-टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी सावित भएका खच्चड हिउँदको समय कामविहीन हुन्छन्। स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन्। तर यतिबेला बागलुङ ढोरपाटन, भल्कोटको माथिल्लो क्षेत्र, बोबाङ, निसेलढोरलगायतका ठाउँमा खच्चडले सामान बोकेको देखिन्छ।

हिउँदको समयमा गुमनामजस्तै हुने घोडा खच्चडलाई स्थानीयले बर्खामा बजारदेखि गाउँसम्म सामान ढुवानीका लागि प्रयोग गर्न थालेका छन्।

केही दिनदेखिको बर्खाले निसीखोला, तमानखोला र ढोरपाटनका अधिकांश सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका व्यापारीले घोडा खच्चडमार्फत् सामान ओसारपसार गरिरहेका छन्।

हिउँदभरि घाँस दाना खुवाएर पालेका घोडा खच्चडले बर्खामा काम पाउन थालेपछि खच्चड व्यवसायी पनि खुसी भएका छन्। चौतीस वर्ष खच्चड व्यवसाय गरेका स्थानीय तुलबहादुर विकले १२ वर्ष अगाडिसम्म सामान ढुवानी गर्ने गर्दथे। सत्रवटा खच्चडमार्फत् साधान ढुवानी गर्दा वर्षमा पाँच लाख बढी आम्दानी गर्ने उनले अहिले रु २० हजार कमाउन मुस्किल पर्ने बताए।

प्रतिक्रिया दिनुहोस