ललिता निवास प्रकरण : चार जना आरोपितको सकियो बयान

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८०, ११ : १३
ललिता निवास प्रकरण : चार जना आरोपितको सकियो बयान

काठमाडौँ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका ४ जनाको बयान पूरा भएको छ । बिहीबार सम्ममा ४ जनाको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले बताए ।भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहित १७ जनालाई ब्युरोले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार थुनामा रहेका मध्ये रमेश कुमार पोखरेल, घमान कुमार कार्की, बाबुराजा महर्जन र शिवजी भट्टराईको बयान पुरा भएको छ ।रमेश कुमार पोखरेल समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख हुन् । पोखरेल असार १८ मा पक्राउ परेका थिए । घमान कुमारी कार्की नापी सर्वेक्षक हुन् । बालुवाटारको जग्गामा ‘नक्कली मोही’ लाई जम्मा गरेर जग्गा दाबी गर्ने कामको नेतृत्व बाबुराजा महर्जनले गरेका थिए ।

महर्जनले पनि ‘नक्कली मोही’ बनेर जग्गा आफ्नो नाममा लिएको भेटिएको छ ।शिवजी भट्टराई तत्कालीन वडा सचिव हुन् । असार १७ मा  पक्राउ परेका भट्टराईले गैर कानुनी रूपमा जग्गा व्यक्तिको नाममा लैजानका लागी आवश्यक कागजात सिफारिस सिफारिस दिएका थिए ।

मुख्य आरोपित मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह, पूर्व सचिव रुद्र प्रसाद श्रेष्ठको बयान सकिएको छैन । पूर्व सचिव श्रेष्ठ भूमिसुधार तथा व्यवस्था विभाग महानिर्देशक हुँदा ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएको एसएसपी आचार्यले जानकारी दिए । श्रेष्ठ असार २६ मा पक्राउ परेका हुन् ।

‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म पक्राउ

१. मीन बहादुर गुरुङ -(भाटभटेनी सुपर मार्केटका सञ्चालक, असार १२)

२. सुधीर कुमार शाह - पूर्व निर्वाचन आयुक्त ।

३. धर्म प्रसाद गौतम, शाखा अधिकृत ।

४.गोपाल कार्की, अवकाश प्राप्त खरिदार

५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)

६.घमान कुमारी कार्की, नापी सर्वेक्षक ।

७.बाबुराजा महर्जन, नक्कली मोही ।

८.रमेश कुमार पोखरेल, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (असार १८)

९. देव नारायण महर्जन, मोही ।

१०.लोकहरी घिमिरे, समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख (असार २४)

११.ध्रुब प्रसाद अर्याल, नापी सर्वेक्षक ।

१२. कृष्ण बहादुर राउत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव ।

१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत । (असार २६)

१४. नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत ।

१५ रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग । (असार २६)

१६. बालकृष्ण श्रेष्ठ, सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय ।

१७. बिनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी । (असार २७)

स्टे अर्डरमा छुटेका 

१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।

२. सुरेन्द्रमान कपाली, अधिकृत ।

३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत ।

प्रतिक्रिया दिनुहोस