‘बदमासी नगरे आत्तिनुपर्दैन’: माधव नेपाल

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८०, १२ : २६
‘बदमासी नगरे आत्तिनुपर्दैन’: माधव नेपाल

पाल्पा। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा राखेको पत्रकार भेटमा उनले ललिता निवास प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सरकारी जग्गा हिनामिना प्रकरणमा जो सुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ । कारबाहीको भागिदार हुनुपर्छ ।’ उनले आफ्नो नाम पनि यस प्रकरणमा जोडिएको स्विकार्दै निर्णय गर्नेको नाम आउनु स्वाभाविक भएको बताए ।

नाम आउनेबित्तिकै आफूले बदमासी गरेको छैन भने आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताए । ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्,’ उनले भने, ‘त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ।’

उनले ‘सिस्टम’ मा कुनै त्रुटि छ भने सच्याउनुपर्ने बताए । २०६६/६७ मा पेस भएको फाइल प्रधानमन्त्री निवासलाई विस्तार गर्दै अगाडि बढाउने योजना राम्रो लागेकाले काम अघि बढाउन निर्णय भएको उनले प्रस्ट पारे ।

‘सरकारी र अन्य प्रकारको जग्गा कानुनसंवत् तरिकाले छुट्याएर मात्र काम अघि बढाउनु,’ उनले आफ्नो निर्णयमा लेखिएको व्यहोरा जानकारी गराउँदै भने । उनले यससँग जोडिएका, गिरोहका रुपमा रहेकालाई छाड्नुपर्ने अवस्था नरहेको बताए ।यो वा त्यो प्रकरण नभई देशव्यापी सरकारी जग्गामा भएको हिनामिनाको छानबिन गर्नसमेत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले आग्रह गरिसकेको बताए।

प्रतिक्रिया दिनुहोस