माछापुच्छ्रे बैंक र प्याब्सनबीच डिजिटल साक्षरतासम्बन्धी सम्झौता

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १२ : ४७
माछापुच्छ्रे बैंक र प्याब्सनबीच डिजिटल साक्षरतासम्बन्धी सम्झौता

काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता भएको छ ।वित्तीय एवं डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र प्याब्सनका अध्यक्ष डीके ढुंगानाले हस्ताक्षर गरेका छन् ।

आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापीरुपमा वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।सोमवार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले माछापुच्छ्रे बैंक र प्याब्सनको सहकार्यमा सञ्चालन हुने वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रमबाट वित्तीय जनचेतना वृद्धिमा सघाउने विश्वास व्यक्त गरे ।

 

पछिल्लो समय ग्राहकमा चेतनाको कमी र सामान्य त्रुटिका कारण पनि ठूलठूला वित्तीय अपराधहरू भइरहेको स्मरण गराउँदै उनले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरूले विद्यार्थी मात्र नभएर उनीहरूका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष एवं गैरआवासीय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरूको पाठ्यपुस्तकमा बैंकिङ शिक्षासँग सम्बन्धित विभिन्न जानकारीहरू समावेश गर्न सकेको खण्डमा अझ उपयुक्त हुने सुझाव दिए । सैद्धान्तिकभन्दा पनि व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ थियो ।

प्याब्सनका अध्यक्ष ढुंगानाले प्यावसनले आफ्नो शैक्षिक क्यालेण्डरमासमेत बैंकिङ शिक्षा लगायतका विषयहरूलाई समावेश गरेको जानकारी गराए ।माछापुच्छ्रे बैंकसँगका सम्झौताले बैंकिङ शिक्षालाई गाउँगाउसम्म पुर्याउन र पछिल्लो समय डिजिटल कारोबार बढेसँगै बढ्दै गइरहेका डिजिटल अपराधहरुलाई न्यूनीकरण गर्न निकै ठूलो भूमिका खेल्ने उनको विश्वास छ।​

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिले बैंकिङ उद्योगको मुख्य चुनौतीको रुपमा रहेको डिजिटल अपराधलाई कम गर्न यो सम्झौताले सहयोग गर्ने विश्वास व्यक्त गरे ।प्याब्सनसँगको सहकार्यमा बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामूलक कार्यक्रमहरू देशव्यापीरुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ। यस्तै, प्याब्सनले आफूसँग आबद्ध शैक्षिक संस्थाहरूलाई समन्वय र सहजीकरण गर्ने सम्झौतामा उल्लेख छ ।