सत्ताइस वर्षपछि पूरा हुँदैछ प्रचण्डको सपना

आइतबार, १९ कार्तिक २०७४, १० : १३
सत्ताइस वर्षपछि पूरा हुँदैछ प्रचण्डको सपना


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको माडीसँग पुरानो साइनो छ । चार दशकअघि कम्युनिष्ट पार्टीको पूर्णकालीन सदस्य भएर पहिलो कार्यक्षेत्र माडी बनाएका प्रचण्डले एकताको पाँचौं महाधिवेशन २०४७ सालमा माडीमै सम्पन्न गरेका थिए । अहिले प्रतिनिधि सभा निर्वाचनमा उनी उठेको चितवन क्षेत्र नम्बर तीनको ठूलो हिस्सा माडी नै हो ।
बृहद शान्ति प्रकृयापछि २०६३ सालबाट खुल्ला राजनीतिमा आएका प्रचण्ड जब जब माडी पुग्छन्, उनी भावुक हुने गर्छन् । पाँच वर्षअघि माडी महोत्सवको उद्घाटन गर्न माडी पुगेका प्रचण्डले त्यतिबेला जनतासँग भलाकुसारी गर्न भ्याएनन् । उनको मनमा माडीवासीसँग कुराकानी गर्न नसकेको कुरा खड्किएको थियो ।
दिवाकर तीर्थकुमारी भुसाल स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न शनिबार माडी पुगेका प्रचण्डले यसपटक भने जनतासँग मज्जैले भलाकुसारी गरे । चोकचोकमा उभिएर स्वागत गर्न बसेका माडीवासीको हातबाट पुष्पगुच्छा लिँदै उनीहरुका सुखदुखका कुरा सुने । वाम गठबन्धनबाट प्रतिनिधि सभाका लागि चितवन क्षेत्र नम्बर तीनबाट उम्मेदवारी दिएका प्रचण्डले औपचारिक कार्यक्रममा माडीबारे आफ्नो धारणा र विकासको योजना खुलस्त सुनाए । 
म पार्टीको पूर्णकालीन सदस्य भएपछि मेरो पहिलो कार्यक्षेत्र माडी नै बनेको थियो । २०३७ सालतिर म साइकल चढेर र पैदल हिँडेर थुप्रै पटक माडी आउजाउ गर्थें, विगत सुनाउँदै प्रचण्डले भने, म नेकपा मशालको महामन्त्री भएको ६ महिना नहुँदै पार्टी विघटनको निर्णय लिएँ । निर्मल लामा नेतृत्वको चौथो महाधिवेशन, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन र मेरो नेतृत्वको नेकपा मशाल मिलाएर नेकपा एकता केन्द्र बनाइयो । सबै कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने मलाई त्यतिबेलै लागेको हो ।
कम्युनिष्टहरुलाई एउटै पार्टीमा गोलबद्ध गर्ने प्रचण्डको सपना २७ वर्षपछि अहिले पूरा हुँदैछ । देशका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तत्कालको लागि चुनावी एकता र चुनावपछि पार्टी एकता गर्ने सहमति भइसकेको छ । शनिबार माडीमा प्रचण्डले भने, नेपालमा एकीकृत कम्युनिष्ट पार्टी बनाउने मेरो सपना अहिले आएर साकार हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस